भारतले आफ्नो देशमा भित्रने २८ किसिमका अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उसले यस्तो निर्णय गरेको हो ।
भारतीय अधिकारीहरूका अनुसार अमेरिकाबाट आयात हुने ओखर, बदाम, स्याउलगायतका सामानमा करवृद्धि गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषिलगायत क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै अमेरिकाले भारतलाई दिदैआएको ब्यापार सुविधा नै कटौती गरिदिए । त्यसपछि भारत अमेरिकाबीच पनि व्यापर युद्ध शुरू भएको छ ।
अमेरिका र भारतबीच सन् २०१८ मा करिब १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको ब्यापार भएको थियो । यो ब्यापारमा अमेरिकाले २४ अर्ब अमेरिकी डलरको घाटा ब्यहोरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यो ब्यापार घाटा कम गर्ने उपायका रूपमा भारतलाई दिदैआएको ब्यापार सुविधा कटौती गरेको बताइएको छ ।
भारत र अमेरिकी नेताबीच आगामी जुन २८ र २९ मा जापानको ओसाकामा हुने २० औद्योगिक राष्ट्रहरूको सम्मेलनका क्रममा करवृद्धिबारे छलफल हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
: 2019-06-17 09:31:03