काठमाडौं, जेठ १८ : इन्दिरा लाछिमस्यूले सानैदेखि सुन्दै आएकी थिइन् – छोरी मान्छेले धिमे बजाउनु हुँदैन !
इन्दिरा पनि ‘होला नि त’ भन्दै धिमेबाट परै रहन्थिन्।
तर, उनको भक्तपुर, दत्तात्रेयस्थित घरमा दिनदिनै धिमे बज्थ्यो। बुवा र दाइहरू धिमे बजाउन पोख्त थिए। धिमेकाे धून सुनेर उनी पनि यो परम्परागत नेवारी बाजाको प्रेममा परेकी थिइन्। उनको मनमा हरदम धिमेकै धून गुञ्जिरहन्थ्यो।
एक दिन उनको घरमा अरु कोही थिएनन्। उनी थिइन् र बुवा–दाइले बजाउने धिमे बाजाहरू थिए। उनको मनमा लामो समयदेखि दबेर बसेको धिमे बजाउने रहर एक्कासि जागृत भयो।
उनले डराई–डराई धिमे बजाउन थालिन्। पहिलो दिन खासै भाका टिपेन। तर, अर्को दिनदेखि घरमा बुवा र दाइ नभएको मौका छोपेर धिमे बजाइहाल्थिन्।