काठमाडौंको अति व्यस्त स्थान घट्टेकुलोमा आइतबार बिस्फोटनमा परी ज्यान गुमाएका व्यक्ति प्रतिबन्धित नेकपा विप्लव समूहको विद्यार्थी नेता प्रज्वल शाही रहेको पुष्टी भएको छ।
काठमाडौंको अतिव्यस्त स्थान घट्टेकुलो र सुकेधारामा आइतबार दिउँसो साँढे ४ बजे बिस्फोटको घटना भएको थियो। जसमा घट्टेकुलोमा एक र सुकेधारामा तीनजनाले ज्यान गुमाएका थिए।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले ब्रेक एन लिंक्सलाई दिएको जानकारी अनुसार घट्टेकुलोमा बिस्फोटमा मारिने व्यक्ति विप्लव समूहका विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रज्वल शाही थिए।
उनको सनाखत भइसकेको एसएसपी ज्ञवालीले बताए। सुकेधारामा मारिएका तीन जनाको सनाखत हुन भने अझै बाँकी छ।
‘घट्टेकुलोमा मर्ने व्यक्ति विप्लव समूहका केन्द्रीय सदस्य प्रज्वल शाही भएको सनाखत भइसकेको छ। सुकेधारा घटनामा मारिनेको सनाखतको तयारीमा छौं,’ एसएसपी ज्ञवालीले भने।
सोमबार बन्दको तयारी स्वरुप राजधानीको चार स्थानमा बम बिस्फोट भएको थियो। टाइम बममा टाइम फरक पर्दा चारजना विप्लव कार्यकर्ताकै निधन भएको थियो।