लिग च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको अन्तिम लिग खेल बराबरी खेलेको छ।
आइतबार भएको खेलमा बार्सिलोना इबरसँग २-२ गोलको बराबरीमा रोकिएको हो।
इबरको मैदानमा सुरूवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरी खेलेको हो। बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले दुबै गोल गरे।
इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक-एक गोल गरेका थिए।
खेलको २० औं मिनेटमा कुकुरेल्लाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मेसीले एक मिनेट भित्र दुई गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।
३१ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। त्यसपछि खेलको ३२ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। तर, ४५ औं मिनेटमा इबरका ब्लासिसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
बराबरीसँगै बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोड्दै लिग टुंग्यायो। उसले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पार्दै उपाधि उचालेको थियो।
मेसीको ५० औं गोल
इबरविरुद्ध दुई गोल गरेसँगै मेसीले यो सिजन सबैखाले प्रतियोगितामा ५० औं गोल पुरा गरेका छन्। ला लिगामा भने मेसीले ३६ गोल गरे। उनी सर्वाधिक एसिस्ट गर्ने खेलाडीसमेत हुन्। उनले १३ वटा गोलका लागि पास निकालेका थिए। मेसीले यो सिजन तीन वटा पहेलो कार्ड पाए।
मेसी यस सिजन ला लिगाको सर्वाधिक गोलकर्तासमेत बने। मेसी छैटौं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन्।