विश्वकप क्रिकेटको १२ औं संस्करण ३० जुनदेखि इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुदैछ। यसैलाई लिएर विश्व कपमा सहभागी हुने सबै राष्ट्रहरू अभ्यासमा जुटिसकेका छन्। र, सबै टिमले आफ्नो खेलाडी पनि सार्वजनिक गरिसकेका छन्।
यसपालिको विश्व कपमा ३५ वर्षभन्दा माथिका खेलाडी थुप्रै देखिदै छन्। जसमा ३५ वर्ष नाघेका विशेष खेलाडी यस प्रकार हुनेछन्।
क्रिस गेल (३९ वर्ष)
‘युनिभर्स–बोस’ को उपनाम पाएका गेलको यो अन्तिम विश्व कप मानिएको छ। उनलाई यसपालि वेष्ट इन्डिज टिमको उपकप्तानको भूमिका दिइएको छ। गेलले इंग्ल्यान्डविरूद्ध ४ खेलमा १३७ दशमलव ४३ को औषतले ४२४ रन बनाएका छन्।
हाशिम अमला (३६ वर्ष)
दक्षिण अफ्रिकाका यी प्रारम्भिक ब्याट्सम्यान प्राविधिकरुपमा सशक्त ब्याट्सम्यान मानिन्छन्। एबी डी भिलियर्सको अनुपस्थितिमा टिममा उनको जिम्मेवारी झन बढेको छ। उनी प्रारम्भिक ब्याट्सम्यान अथवा तीन नम्बरमा ब्याटिङ गर्न आउछन, त्यो सार्वजनिक भइसकेको छैन। गेल र अमलाको ब्याटिङ शैलीमा आकाश–जमिनको फरक छ। गेल आक्रामक ब्याट्सम्यान र अमला आरामसँग खेल्ने ब्याट्सम्यानको रुपमा परिचित छन्।
सान मार्स (३५ वर्ष)
अस्ट्रेलियाबाट तीन नम्बरमा ब्याटिङ गर्न उत्रिने मार्स केही समयदेखि टिममा भित्र र बाहिर हुँदै आइरहेका थिए। तर, स्टिभ स्मिथ र डेभिड वार्नरको अनुपस्थितिमा उनलाई टिममा स्थान दिइयो। मार्सले हालै पाकिस्तानविरूद्ध ६० दशमलव ६७ को औषतले १ सय ८२ रन बनाएका थिए।
रोस टेलर (३५ वर्ष)
न्युजिल्यान्डका रोस टेलरको हालै नयाँ स्वरुप देखिएको थियो। उनी पूर्व कप्तान स्टिफन फ्लेमिङलाई पछाडि छोड्ने क्रममा न्युजिल्यान्डबाट सर्वाधिक रन बनाउने खेलाडी बने। उनको करिअर औषत ५० र स्ट्राइक रेट ८३ दशमलव ३७ छ।
महेन्द्रसिंह धोनी (३७ वर्ष)
भारतका महेन्द्रसिंह धोनी चौथो विश्व कप खेलिरहेका छन्। अस्ट्रेलियाविरूद्ध केही समयअगाडि उनले गरेको प्रदर्शनलाई हेर्दा उनी अहिले पनि भारतीय टोलीका विशेष खेलाडी हुन्। विश्व कपमा धोनीको प्रदर्शन सधै उच्च स्तरको छ।
सोएब मलिक (३७ वर्ष)
सोएब मलिक यतिबेला उत्कृष्ट फर्ममा छन्। पाकिस्तानको युवा खेलाडीसँगै उनलाई पनि टिममा समावेश गरिएको छ। उनी मध्यक्रमका प्रभावशाली ब्याट्सम्यान हुन्। उनले थुप्रै खेलमा आफू राम्रो फिनिसर भएको पनि प्रमाणित गरिसकेका छन्।
जाँ पाल डुमिनी (३५ वर्ष)
डुमिनी यसै अप्रिलमा ३५ वर्ष पुरा भएका थिए। बलिङ र ब्याटिङ दुवैमा पोख्त डुमिनी लामो प्रहार गर्न उस्ताद मानिन्छन्। उनले एकदिवसीयमा ६८ विकेट लिइसकेका छन्।
मुसरर्फ मुर्तजा (३५ वर्ष)
बंगलादेशका मुर्तजाले २ सय ५ एकदिवसीय खेलमा २ सय ५९ विकेट लिइसकेका छन्। नोरेलमा जन्मिएका यी बंगाली क्रिकेटर नयाँ बलले बलिङ गर्ने गर्छन।
डेल स्टेन (३५ वर्ष)
डेल स्टेनलाई हालै दक्षिण अफ्रिकाले टिममा फिर्ता बोलाएको छ। लामो समय चोटग्रस्त रहेका स्टेन तीब्र तथा खतरनाक बलर मानिन्छन्।
लासिथ मालिङ्गा (३५ वर्ष)
श्रीलंकाका तीब्र बलर मालिङ्गा यसपालि पनि विश्व कप टोलीमा समावेश छन्। पछिल्लो समय उनको आलोचना गर्नेको संख्या बढ्दो छ। तर, पनि उनलाई टिम व्यवस्थापनले पत्याएको छ। उनी विश्व कपमा श्रीलंकाको ‘ट्रम्प कार्ड’ मानिन्छन्।
इमरान ताहिर (४० वर्ष)
इमरान ताहिर दक्षिण अफ्रिकाका विजेता बलर हुन्। ४० वर्षको उमेरमा पनि उनको स्पिनको जादु घटेको छैन। ९६ एकदिवसीयमा उनले १ सय ६२ विकेट लिएका छन्।