‘नेपालमै सस्तो पर्छ’ भनेर किनेको प्रेसर कुकरभित्र एक पोको ‘घरको चामल’ हालेर क्यानडा आएका एकजना युवा अहिले चल्तीको बैंकमा म्यानेजर छन्।
छ कक्षा पढ्दासम्म अंग्रेजीमा आफ्नो नाम लेख्न मुस्किल पर्ने अर्का युवा क्यानडामा दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ठ बैंकिङ सल्लाहकार छन्।
नेपालकै पढाईको जगमा यता थप पढेर सानो पदबाट बैंकिङ करिअर सुरु गर्दै माथिल्लो तह पुग्ने नेपालीमूलका युवती पनि निकै छन्।
‘विदेशमा गतिलो काम गर्दैनन्’ भन्ने परम्परागत सोचलाई क्यानडा बस्ने नेपालीमूलका धेरै युवायुवतीले दरिलो जवाफ दिइरहेका छन्, बोलीले होइन पेशागत कामले।
स्वदेश होस् वा विदेश, दैनिक जीवनमा एउटा अत्यावश्यक चीज– पैसा।त्यही पैसाको कारोबार हुने ठाउँ– बैंक।क्यानडामा रहेका नेपालीमूलका थुप्रैले अहिले जागिरनिम्ति त्यही बैंक रोज्दैछन्।
‘हाइपेड’ जागिर नभए पनि ‘हाइफाइ र इज्जतिलो’ ठानेर बैंकिङ क्षेत्रमा करिअर बनाउनेहरु थपिँदैछन्।‘जिटिए’ भनिने ग्रेटर टोरन्टो एरियामा मात्रै नेपालीमूलका एक सय जति बैकिङ क्षेत्रमा कार्यरत् रहेको अनुमान छ।
मन्ट्रियल, अटोवा, क्याल्गेरी,
नेपालीमूलका कर्मचारी माथिल्लो तहमा पुग्दा भर्खर क्यानडा आएर बैंकिङ क्षेक्रमा जागिर खोज्नेलाई केही सजिलो हुँदैछ।क्षमता र ईच्छाशत्ति भएकालाई नेपालीमूलका कर्मचारीले रेफ्रेन्स दिने गर्छन्।
क्यानेडियन बैंकमा नेपालीमूलका युवायुवती सामान्यदेखि माथिल्लो ओहोदासम्मै छन्।तीमध्ये केही प्रतिनिधि पात्र यी हुन्, जो आफैं संघर्ष र मेहेनतले खारिँदै सफल यो ठाउँ पुगेका हुन् ।
ब्राम्प्टनमा ‘ब्रान्च म्यानेजर’
हेमन्त दाहालले क्यानडामा १९ वटा हिउँद–बर्षा बिताइसकेका छन्।‘धेरै पढ्न’ झापाको बुधबारेबाट काठमाडौं हिँडेका दाहाल त्यहाँको शंकरदेव क्याम्पसबाट एमबीए सकेर ‘अझ केही गर्न’ सन् २००० मा मन्ट्रियल आएका थिए।फ्रेञ्च सिक्दाका ८ महिनाबाहेक मन्ट्रियलमा उनको दुई बर्ष खत्र्याकखुत्रुक काममै बित्यो।
ग्रोसरी स्टोरमा क्यासियरको काम छोडेर मन्ट्रियल एअरपोर्ट इम्प्रुभ सर्भिसमा काम गर्दैगर्दै उनमा एकदिन ‘अब त बैंकहरुमा काम गर्नसक्छु होला’ भन्ने हिम्मत पलाएछ।त्यही हिम्मतले एकैपल्ट पाँच बैंकमा जागिरका लागि आवेदन दिए। त्यसमध्ये सबैभन्दा चल्तीको ‘आरबीसी बैंक’बाट अर्न्तवार्ता लिने टुंगो गरे।
‘अर्न्तवार्तामा पास भएपछि सोचेभन्दा छिट्टै र सजिलै बैंकिङ क्षेत्र प्रवेश गरें’ दाहालले सन् २००२ जूनमा आरबीसी बैंक प्रवेश गर्दाको क्षण सम्झिए, ‘क्यासियरबाट बैंकमा करिअर सुरु गरेको थिएँ, १७ बर्ष त्यही बैंकमा निरन्तर काम गरिरहँदा पाँचपल्ट प्रमोशन भयो र अहिले ब्रान्च म्यानेजर भएको छु।’
४३ देशमा सञ्जाल, ८४ हजार कर्मचारी र १५ सय ५० हाराहारी शाखा भएको ‘आरबीसी बैंक’ क्यानडामा अग्रणी मानिन्छ।दाहाल त्यही बैंकको टोरन्टोस्थित ब्राम्प्टनको ब्रेम्ली–मेफिल्ड ब्रान्चका म्यानेजर हुन्, जहाँ उनी मातहत आठ कर्मचारी छन्।उक्त ब्राञ्चमा दैनिक अढाई सय जति सेवाग्राही आउँछन्।
‘कहिलेकाहिँ लाग्छ, बुधबारेको एसएलसी र शंकरदेवको एमबीएको जगमा ब्राञ्च म्यानेजर हुनु ठूलै कुरा हो’ यो तहमा पुग्न क्यानडामा थुप्रै कोर्ससँगै पढाइसमेत गरेका दाहाल भन्छन्, ‘नातागोता र आफन्तले पनि क्यानडाको बैंकमा विदेशीलाई काम अह्राउने तहमा पुग्नु चानचुने उपलव्धि होइन भन्दा खुशी लाग्छ।’
मिसिसागाका ‘च्याम्पियन’
शंकर खनाल उत्तर अमेरिका छिरेको १३ बर्ष पुग्यो।सन् २०११ देखि परिवारसहित टोरन्टोमा बस्छन्।त्यसअघि उनी अमेरिकाको मायामीमा थिए।क्यानडा आएको तीन बर्षपछि ‘फाइनन्सिएल सर्भिस् रेप्रिजेन्टेटिभ’का रुपमा उनी ‘टीडी बैंक’ प्रवेश गरेका थिए।त्यसपछि उनी तीनपल्ट प्रमोशन भए, बर्षेनी अवार्ड पनि जित्दै गए।
यसपल्ट त उनले झनै ठूलो सफलता पाए– ‘मिसिसागा डिष्ट्रिक च्याम्पियन एडभाइजर।’ टोरन्टोको मिसिसागा डिष्ट्रिकका थुप्रैवटा ‘टीडी बैंक’का दर्जनौं सल्लाहकारमध्ये उनी ‘च्याम्पियन’ बने।अघिल्लो बर्ष उनी पश्चिम जिटिए क्षेत्रकै ‘च्याम्पियन सल्लाहकार’ भई बैंकका तर्फबाट डोमेनिकन रिपब्लिकको पुन्टा काना सम्मेलनमा सहभागी भएका थिए।
अवाग्राहीलाई चित्तबुझ्दो सल्लाह दिँदै गुनासोरहित काम गर्दा खनाललाई यो सफलता मिलेको हो।अहिले आर्थिक सल्लाहकारसँगै ‘ब्रान्च कम्प्लाएन्स अफिसर’को जिम्मेवारीमा रहेका खनाल क्यानडामा लगानी गर्न इच्छुकलाई परामर्श दिने हैसियत राख्छन्।‘टीडी बैंक’को मिसिसागास्थित डेरि–म्यक्लाक्लिन शाखाका निमित्त प्रमुख हुन् उनी।
यत्तिको सफलता त्यत्तिकै मिलेको होइन।क्यानडा आएको केही समयसम्म ‘मायामीको पाँच बर्षे अनुभवले खारिएको’ सोच्थे खनाल।टोरन्टोमा छुट्टै तीन महिने तालिम सकेर अंग्रेजी भाषाको टेष्ट पनि दिइसकेका। ‘अमेरिकी अनुभव पनि छ, पक्कै बैंकमा काम मिल्ला’ सोचेर तीनवटा बैंकमा अप्लाई गरे।तर, सोचेजस्तो सजिलो भएन।
‘न कसैको रेफ्रेन्स् थियो, न क्यानेडियन अनुभवै’ क्यानडाका सुरुवाती दिनबारे खनालले सुनाए, ‘तीनवटा बैंकमा अर्न्तवार्ता दिए, तीनवटैमा फेल।’ त्यसपछि झन् दत्तचित्त भएर मेहनत गर्न लागे।‘फाइनान्सियल प्लानिङ’मा पोष्ट ग्रयाजुएट गरे। छोटा तालिम लिँदै लाइसेन्स लिए।र, २०१४ मार्चमा उनले ‘टीडी बैंक’ प्रवेश गरे।
धादिङ कटुञ्जेमा जन्मेका हुन् खनाल। काठमाडौंको नक्सालस्थित नन्दी माविबाट एसएलसी, पब्लिक युथ क्याम्पसबाट एमबीएस।‘इच्छाशक्ति दह्रो भए चाहेको क्षेत्रमा माथिल्लो पदमा पुग्न सकिन्छ’ उनको अनुभवले भन्छ, ‘लक्ष्य तोकेर उचित योजना बनाई मेहनत गर्दा सफल भइन्छ।’
डेढ दशकदेखि निरन्तर
श्वेता रेग्मी पनि अमेरिका हुँदै क्यानडा आएकी हुन्, जो १४ बर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छिन्।क्यानेडियन बैंकमा झण्डै डेढ दशक अनुभव संगालेकी रेग्मी अहिले अन्टारियोको सड्बरीस्थित ‘टीडी बैंक’ मै कार्यरत छिन्, जुन शहर टोरन्टोभन्दा करिव पाँचघण्टा टाढा पर्छ।
सन् २००५ देखि १७ सम्म एउटै बैंक, ‘ट्यान्जरिन’ (आइएनजी) मा काम गरेकी रेग्मी एक बर्षयता ‘टीडी बैंक’मा सरेकी हुन्।अहिले ‘कस्टमर एक्सपेरिएन्स्’ तथा ‘कस्टमर सर्भिस म्यानेजर’को जिम्मेवारी सम्हालिरहेकी उनी पहिले ‘क्वालिटी एण्ड कोचिङ म्यानेजर’ थिइन्।
कल सेन्टरको जिम्मेवारी लिँदै ट्यान्ज्रिन बैंक छिरेकी रेग्मी त्यही बैंकमा विभिन्न चरण पार गर्दै ‘कर्मचारी हायर गर्ने’ तहसम्म पुगेकी थिइन्।सेभिङ स्पेशलिष्टका रुपमा काम गरिसकेपछि मोर्गेज डिपार्टमेन्टमा काम गर्दै गर्दै उनी सुपरभाइजर भएकी थिइन्।
‘ट्यान्जरिन्मा नेपालीमूलका चारसहित थुप्रै कर्मचारी हायर गरें’ कुनैबेला बैंकको ई-सेवासमेत आफैं सम्हालेकी श्वेताले सुनाइन्, ‘टप म्यानेजरमा गनिएपछि ती अधिकार पाइन्छ, जहाँ आफ्नो रेफ्रेन्सले कर्मचारी हायरमा काम गर्छ।’
काठमाडौं कलंकीमा जन्मेर त्यहींको एलआरआइ बोर्डिङ स्कुलबाट एसएलसी गरेकी श्वेता प्लस टु सकेर अमेरिका आएकी हुन्।त्यहाँबाट सन् २००१ मा क्यानडा सरेपछि उनले टोरन्टोस्थित सेन्टेनियल कलेजमा तीन बर्षे ‘बिजनेश एडमिनिष्ट्रेशन’ पढिन्।
‘त्यसबेला पढाई सकेर पार्टटाइम जब गर्दै गर्दा आफूलाई अझ अपग्रेड गरेर बैंकिङ क्षेत्रतिर लाग्न सफल भएँ’ श्वेताले पुराना दिन सम्झिइन्, ‘रेफ्रेन्स पाउन मुस्किल पर्ने त्यो समयमा क्षमता, इच्छाशक्ति र आत्मविश्वासले काम गर्यो, बैंकमा काम पाएरै छोडें।’
नयाँ आप्रवासी तथा विद्यार्थीलाई क्यानडामा सेटल हुन आवश्यक पर्ने कुराहरुमा उनले परामर्श दिने काम पनि गर्दै आएकी छन्।अघिल्लो बर्ष नेपाल गएर झण्डै तीन महिना बस्नेक्रममा विद्यालयहरूमा स्वयंसेवा गरेकी श्वेताले आफूहरुले चलाएको एउटा नेपाली प्रतिष्ठानलाई नियमित सहयोग गर्दै आएकी छन्।
नेपालकै अनुभव काफी
शोभा तुलाधर चाहिँ काठमाडौंबाट सिधैं क्यानडा आएकी हुन्।विश्वनिकेतन हाइस्कुलबाट एसएलसी गरेर पब्लिक युथ क्याम्पसबाट एमवीए गरेकी उनले नेपालमा ‘नट् फर पर्फिट् अर्गनाइजेशन’ मा १२ बर्ष काम गरेकी थिइन्, जो उनका लागि क्यानेडियन बैंकमा जम्ने अनुभवको आधार बन्यो।
सन् २०१३ मा क्यानडा आएकी शोभा सुरुवाती दिनमा चाहेको काम पाउन असफल भएकी थिइन्।नेपालमा अन्तरार्ष्ट्रिय संस्थामा काम गरेको भए पनि क्यानडामा कसैको रेफ्रेन्स् नपाएर उनले तीन ठाउँमा अर्न्तवार्ता दिएर पनि कामको मौका पाइनन्, ती ‘फेल पार्ने’ क्यानडाका नन् पर्फिट अर्गनाइजेशन थिए।
एक/डेढ बर्षे कोर्ष गर्ने सोचेर केही कलेज जाँदा ‘त्यत्रो अनुभव रहेछ, कि मास्टर्स नै गर्नु नत्र अरु कोर्ष पर्दैन’ भन्ने सल्लाह पाएपछि उनले क्यानडामा उच्च शिक्षा लिइनन्।त्यसबीच एउटा एकाउन्टिङ फर्ममा काम गर्दा ‘क्यानेडियन अनुभव’ पनि बटुलिसकेकी थिइन्।तर, बीचमा एउटा तीन महिने को–अप गरिन्।अनि, ‘कर्पोरेट क्षेत्रमा लाग्ने’ सोचेर एजेन्सीमार्फत बैंकमा काम गर्न चासो देखाइन्।
‘नभन्दै एक दिन एजेन्सीमार्फत बैंकमा काम गर्ने अवसर मिल्यो’ शोभाले त्यो सुखद् दिन सम्झिइन्, ‘त्यसपछि कहिल्यै पछि फर्कनु परेको छैन, सधैं बैंकको बैंकमै ब्यस्त।’ सन् २०१४ देखि ‘आरबीसी बैंक’ प्रवेश गरेकी शोभा अहिले त्यसको मेडोवेलस्थित कार्यालयमा ‘इन्भेष्टर एण्ड ट्रेजरी विभागमा कार्यरत् छिन्।
सुरुमा ६ महिने करार सम्झौतामा बैंक प्रवेश गरेकी शोभा एक बर्षमै स्थायी भइन्।त्यसयता उनले बैंकमा तीन नेपालीसहित थुप्रै कर्मचारी हायर गरेकी छन्।‘हामीले रेफ्रेन्स नपाएर दुःख पायौं, अरुलाई त्यस्तो नहोस् भनेर सकेको सहयोग गर्छु’ शोभाले सुनाइन्, ‘मुख्य त उनीहरुमै क्षमता हुनुपर्यो, हामीले सघाउने मात्र हो।’
बुवा-आमाकै बाटोमा
डेजी शर्मालाई कुनै बेला जोड घटाउ र अंकको खेल अर्थात् गणित सार्ह्रै झ्याउ लाग्थ्यो।स्कुलैदेखि ‘पढ्नै नपरोस्’ झैं लाग्ने त्यही ‘अंकको खेल’ अर्थात् गणित सम्बन्धित बैंकिङ पेशा नै अहिले क्यानडामा उनको ‘इज्जतिलो’ करिअर बन्यो, जो उनका बुवाआमाले पनि रोजेको पेशा थियो।
काठमाडौं बल्खुको ग्रीन लन्स् एकेडेमीबाट एसएलसी र जावलाखेलको वेल्हृयाम कलेजबाट प्लस टु सकेकी डेजी सन् २००७ मा क्यानडा आएकी हुन्।आएको दुई बर्षसम्म अंग्रेजी राम्रो हुँदाहुँदै पनि ‘यान्त्रिकझैं लाग्ने विषयमा रुचि नभएर’ उनले ‘ठूला काममा’ ध्यान दिइनन्।
सपिङ मलको इन्फो बुथ् र म्याकडोनल्डतिरकै काममा अल्मलिइरहेका बेला उनलाई बैंकिङ क्षेत्रमै जम्दै गरेकी दिदी र बैंकबाटै अवकाशप्राप्त बुवाआमाले ‘आफूहरुकै बाटोमा लाग्न’ झक्झक्याइरहे।मन त ‘आर्टस् पढ्ने’ थियो, तर बारम्बारको अभिभावक झक्झक्याईले उनी बैंकिङ क्षेत्रतर्फै ढल्किइन्।
दिदी टोरन्टोकै ट्यान्जरिन बैंकमा प्रवेश गरी फड्को मार्दै थिइन् भने बुवा भोला र आमा प्रमिला शर्मा काठमाडौंस्थित नेपाल बैंक लिमिटेडबाट अवकाश हुनेक्रममा थिए।अन्ततः सन् २००९ मा उनले तत्कालीन आइएनजी अहिलेको ट्यान्जरिन् बैंकको नर्थ योर्कस्थित कार्यालयमा कल सेन्टरबाटै काम थालिन्।
दुई महिने तालिमपछि उनले बैंकको कल सेन्टर सम्हालिन्, जहाँ दैनिक औसत एकसय कल रिसिभ गरी सेवाग्राहीलाई चित्तबुझ्दो कुरा गर्नुपर्थ्यो।‘उतै पढेको अंग्रेजी यता पटट बोल्नपर्दा अलि अप्ठेरो लागे पनि आत्मविश्वासले जित्दै गयो’ डेजीले सुनाइन्, ‘बिस्तारै बिना संकोच कल जिम्मेवारी सम्हालियो।’
दुई बर्ष त्यो जिम्मेवारीमा रहेपछि डेजीले फरक फरक विभागमा काम गरिन्।‘सबैमा राम्रो पर्फमेन्स् देखाएपछि अहिले एण्टी मनी लण्डरिङ डिपार्टमेन्टमा छु’ कालो धन र सेतो धन छुट्याउनुपर्ने जिम्मेवारीबारे उनले भनिन्, ‘बैंकमा जम्मा हुने पैसाको स्रोत बुझ्ने काममा छु।’