फोटो खिच्न आग्रह गरेपछि मदनकृष्ण श्रेष्ठ बसिरहेको कुर्सीबाट विस्तारै उठेर एक खुट्किला जत्ति ओर्लिए। त्यसपछि सुस्तरी पाइला चाले।
'हिँड्दा पहिले दायाँ कि, बाँया खुट्टा चाल्ने भन्ने सोचेर मात्र पाइला चाल्नुपर्छ', मुस्कुराउँदै मदनकृष्णले भने।
पछिल्लो समय पार्किसन्सबाट पीडित भएपछि उनी पाइला चाल्नुअघि कुन खुट्टा पहिले चाल्ने सोचेपछि मात्र पाइला सार्ने गरेका छन्। अरूको जस्तो सटासट, फटाफट हिँड्न उनलाई सजिलो छैन।
दशकौदेखिका सहयात्री हरिवंश आचार्य मदनकृष्णलाई हिँड्नलाई सहयोग गर्दै थिए।
कलाकारिता त्यसमा पनि विशेष गरी हाँस्य क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंशको यात्रा मानिसका शरीरका दुबै खुट्टाजस्तै हुन्। दशकौंको यात्रा दुबै खुट्टाको सन्तुलनले गर्दा नै आजसम्म चलिरहेको छ, एकअर्काको भरोसा बनेर।