भारतको हरियाणा र महाराष्ट्रमा नयाँ विधानसभाका लागि मतदान शुरु

तस्बिरः एजेन्सी

भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा सोमबार नयाँ विधानसभाका लागि मतदान शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ ।

महाराष्ट्रमा सोमबार सबै २८८ सिटका लागि मतदान भइरहेको छ। हरियाणामा भने कुल ९० सिटको लागि मतदान शुरु भएको छ । भइरहेको छ ।

मतगणना अक्टोबर २४ हुनेछ । महाराष्ट्रका ८९५ लाख मतदाताका लागि ९५ हजार ४७३ मतदान केन्द्र तय गरिएको छ । यस्तै हरियाणाका १८२ लाख मतदाताका लागि १९ हजार ४२५ मतदान केन्द्रको व्यवस्था गरिएको चुनाव आयोगले उल्लेख गरेको छ ।

महाराष्ट्रमा भाजपा–शिवशेना गठबन्धन र कांग्रेस–एनसिपी (नेशनलिस्ट कांग्रेस पार्टी) गठबन्धनबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको छ । यसैगरी हरियाणामा सत्तारुढ भाजपा, कांग्रेस इन्डियन नेशनल लोकदल (ओमप्रकाश चौटाला) र जननायक जनता पार्टीबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सोमबार नै १८ राज्यका ५१ विधानसभा सिट र लोकसभाका दुई सिटका लागि उपचुनाव हुँदैछ ।

उत्तर प्रदेशका ११, गुजरातका ६ बिहारका पाँच, असमका चार, हिमाञ्चल प्रदेश र तमिलनाडूका दुई–दुई, पञ्जाबका चार, केरलका पाँच, सिक्किमका तीन तथा राजस्थानका दुई विधानसभा सिटमा मतदान हुँदैछ ।

यस्तै अरुणाञ्चल प्रदेश, मध्य प्रदेश, ओडिशा, छत्तिसगढ, पुदुचेरी, मेघालय र तेलंगानाका एक एक सिटमा मतदान हुँदैछ । यसैगरी बिहारको समस्तीपुर र महाराष्ट्रको सतारा लोकसभा सिटका लागि पनि उपचुनावको मतदान हुँदैछ ।

प्रकाशित मिति: : 2019-10-21 12:58:57

प्रतिकृया दिनुहोस्