प्रधानमन्त्री मोदीको टर्की भ्रमण रद्द,भारतमा जहाज बनाउने सम्झौता पनि फिर्ता

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ ।

गएको महिना २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको आमसभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले जम्मू–कश्मीरबाट धारा ३७० हटाइएको बारेमा मुद्दा उठाएका भ्रमण रद्द गरिएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

यस वर्षको गएको जुन महिनामा प्रधानमन्त्री मोदी र टर्कीका राष्ट्रपति अर्दोआनबीच भएको भेटवार्तामा यो वर्षको अन्त्यसम्ममा प्रधानमन्त्री मोदी टर्की जाने कार्यक्रम रहेको थियो ।

भारतीय अखबार ‘द हिन्दू’का अनुसार भारतले टर्कीको अनादोलु शिपयार्डले भारतमा जहाज बनाउने सम्झौता पनि रद्द गरेको छ । अखबारले भारतको विदेश मन्त्रालयसँग प्रधानमन्त्री मोदीको टर्की भ्रमणका बारेमा बुझ्दा मन्त्रालयले कुनै भ्रमणको योजना नभएको बताएको थियो ।

तर भारतका लागि टर्कीका राजदूत साकिर ओजकानले भारतीय प्रधानमन्त्री अंकारा आउनेमा टर्की सरकार विश्वस्त रहेको संचार माध्यमा बताएका छन् । उनले कश्मीरमा चीनले पनि भारतको आलोचना गरेको र चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भारत भ्रमण गरेको सम्झना गर्दै टर्की आउने कुरामा आफु विश्वस्त रहेको बताएका छन् ।

प्रकाशित मिति: : 2019-10-20 12:51:19

प्रतिकृया दिनुहोस्