आमा,
अचेल एक तमास ले मुहार उजेलिएको छ
मष्तिस्कमा कुरा माकुराको जालो झैं जेलिएको छ
म भित्र कोही बोले जस्तो लाग्छ
सल्बलाएर केही चले जस्तो लाग्छ
मन खुशीले फैलिएर छिनमै आकाश जस्तै भइदिन्छ
छिनमै बिलाइजान्छ खुशी फेरि मन भारी हुन्छ
खबर सुनेर पुलकित हुँदै हौ तिमी
हो आमा!
मेरो गर्भ बसेको छ,
हेर्न लायक हुँदो हो, तिम्रो आँखाको चमक!
जसै महिना नाघेदेखि,
तिमीलाई सधैं सानै लाग्ने छोरी आफैं आमा बन्न लागे देखि,
हरेक पल म तिमीलाई सम्झिन्छु,
अचेल तिमीलाई बाडुली अली बढि नै लाग्दो हो
यस्तो लाग्छ, शरीरमा नदुख्ने कुनै अंग छैन,
राति अबेर सम्म निद्रा पर्दैन,
सुन्निएका हात गोडा जब दुइ चार सिंढी चढ्दा थाक्छन्,
झल्झली म तिमीलाई सम्झिन्छु
गार्हो त तिमीलाई पनि कति भयो होला,
म तिम्रो पेटमा छँदा ?
उसै त जिउ गह्रौं भएको बेला,
आफू भन्दा ठूलो घाँसको भारि बोकेर
देउरालीको उकालो कसरि चढ्थ्यौ होला तिमी?
राती कच्पल्टिलो निद्रा सुतेर
भालेको डाँकसंगै गैह्री धाराबाट जोर गाग्रीमा पानि खेप्न सजिलो थियो, आमा ?
घाम उदाए देखि अस्ताए सम्म
भ्याइनभ्याइ, असरल्ल कामको बीचमा
आरामको एउटा लामो सुस्केरा सम्म लिन भ्याउँथ्यौ त तिमी?
मलाई भने आफु उसै ठूलो भएको जस्तो लाग्थ्यो
आज आफैं भित्र एउटा जीवन हुर्किंदै गर्दा,
अकस्मात सबै सुझबुझ आए जस्तो भएको छ
सहि अर्थमा बल्ल पो तिम्री छोरी भएको छु !
जसरि आफ्नो प्रत्येक श्वासले ममा प्राण फुक्यौ तिमीले
उसै गरि आफ्नै रगतले सिंचिरहेछु म
आफू भित्र सुस्तरी आकार लिइरहेको त्यो सानो जीवलाई,
जो बिस्तारै बिस्तारै बढेर बन्नेछ एकदिन
एउटा पूर्ण मान्छे
र कहलाउनेछ मेरो सन्तान!
हरेक छाक खान बस्दा म सम्झिन्छु
तिमीले पकाएको हरियो कर्कलोको तरकारी र अकबरे खुर्सानीको अचार
जति मेहनत गरे पनि मैले पकाएको चम्सुरको साग तिमीले बनाएको जस्तो किन हुँदैन होला?
उसो त आजकाल,
केहि खानु अघि दस पल्ट सोच्छु म!
के खाउँ त्यस्तो जसले उसलाई फाइदा गरोस्
वा नखाउँ त्यस्तो जसले उसलाई हानी पुगोस्
मैले खाएको खुर्सानीको पिरोले कतै उसलाई पोल्छ कि?
शायद आमाहरुले मात्रै सक्छन्, आफू भन्दा पहिले आफ्नो सन्तानको बारेमा सोच्न
मेरै लागि तिमीले रात रात भरि जाग्यौ होला
आफ्ना मनका थुप्रै रहर हरु त्याग्यौ होला
चोट मलाई लाग्दा
आँशु तिमीले झार्यौ होला
रोग मलाई लाग्दा
मुख तिमीले बार्यौ होला
आफैं आमा बन्दै गर्दा तिमीलाई सम्झिन्छु
तिमि जस्तै अर्की आमा, सासुआमा सम्झिन्छु
जसले,
उस्तै कष्ट सहि जन्माएको,
बडो प्रेमले हुर्काएको
आफ्नो कोखको सन्तान मलाई दिएकी छन्
एउटा अब्बल मानिस, एउटा असल पति !
म ति सबै आमाहरु सम्झिन्छु
जो आफुलाई रित्याएर सन्तानका झोली भरिरहन्छन्
आफ्नो भाग काटेर छोराछोरीका भोक टारिरहन्छन्
संगसंगै
म ति सन्तानहरु सम्झिन्छु
जो केवल आफ्नो भरिएको झोली देख्छन्
तर आमाहरुको योगदान देख्दैनन्
तिनका अनिंदा रातहरु बिर्सिन्छन्
ताते गरि हिंड्न सिकाएका हातहरु बिर्सिन्छन्
अनि बिर्सिन्छन् तिनका
बच्चा बिरामी पर्दा केहि होला कि? भन्ने डर
पहिलो बोलि फुट्दाको खुशी,
त्यो लोरी, त्यो पुतलीको घर,
मानौं ति यसै कुनै अलौकिक ग्रह बाट बयस्क नै झरेका हुन् !
म ति सासुआमाहरु सम्झिन्छु
जो बिर्सिन्छन् आफु आमा बन्दाका पिडा
र बिर्सिन्छन्
कि बुहारीहरू
आफ्नै छोराका बच्चाका आमाहरु हुन् !
म ति बुहारीआमाहरु सम्झिन्छु
जो बिर्सिन्छन् सासुआमाहरु पनि आमाहरु हुन् ति छोराहरुका
जसलाई भाग्यवश उनीहरुले आफ्ना नानिहरुका बाबुका रुपमा पाएका हुन्छन्
जो बिर्सिन्छन् कि आफ्ना पतिहरुलाई उनका आमाहरुले
ठिक त्यसै गरि जन्माएका हुन्, हुर्काएका हुन्
जसरि ति बुहारीआमाहरुले आफ्ना बालबच्चालाई जन्माई, हुर्काइ गरेका हुन्छन् !
पेटमा शिशु चल्दै गर्दा फेरी तिमीलाई सम्झिन्छु
आफैं आमा बन्दै गर्दा तिमीलाई सम्झिन्छु
मातृत्वको यो यात्रामा वस यत्ति, सदैब हेक्का रहोस मलाई
कि कोख चाहे फरक होस्, ममता त उस्तै हुन्छ
आमाहरु सबैका ‘आमा’ जस्तै हुन्छन्
आमाहरु सबैका तिमी जस्तै हुन्छन् !!