सामुद्रिक आँधीले पूर्वी भारतमा वितण्डा मच्चायो

तस्बिरः एजेन्सी

प्रतिघण्टा दुई सय किलोमिटरको बेगमा हावा र वर्षासहित आएको एउटा शक्तिशाली आँधीले भारतको पूर्वी तटीयक्षेत्रलाई नराम्ररी प्रभावित पारेको छ।

‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ।

उक्त आँधी हालैका वर्षमा त्यो क्षेत्रमा आएको आँधीमध्येको विध्वंसात्मक हो।

एकजना सरकारी अधिकारीका अनुसार आँधीका कारण दुईजनाको ज्यान गइसकेको छ।

भारतको पूर्वी राज्य ओडिसामा १० लाखभन्दा बढी मानिसहरूलाई घरबाट अन्यत्र लगिएको छ।

बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको थियो।

आँधीपछि कैयौं क्षेत्रमा बाढी आएको पनि खबरहरू छन्। ८५८ वर्ष पुरानो जगन्नाथ मन्दिर रहेको पर्यटकीय पुरी नगर पनि प्रभावित भएको छ।

यो आँधीका कारण थुप्रै रेल र हवाई सेवा स्थगित भएको छ भने विद्यालय र सरकारी कार्यालयहरू बन्द भएका छन्।

भारतको उत्तरी तटमा रहेका तीनवटा बन्दरगाह पनि बन्द गरिएका छन्।

आँधी शनिवार मत्थर हुँदै जानुअघि भारतको गरिबमध्येको एउटा राज्य ओडिसाका १५ वटा जिल्लामा असर पुर्याउने ठानिएको छ।

भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिन सक्ने मौसम विभाले जनाएको छ ।

भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो । लाखौं व्यक्तिलाई पश्चिम बङ्गाल राज्यबाट सुरक्षित स्थानमा सर्नका लागि भनिएको छ ।

उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने बताएको छ ।

उडिसामा करिब एक हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।

त्यसैले ती क्षेत्रमा उच्च सतर्कता राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गर्दछ ।

सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए ।

गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीका कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।

प्रकाशित मिति: : 2019-05-04 00:55:06

प्रतिकृया दिनुहोस्