बालुवाटारको हाम्रो जग्गा अधिग्रहण हैन जफत भएको थियो: राणा परिवार

सुवर्ण समशेर र उनको परिवारको नाममा कुनै समय रहेको २९९ रोपनी जग्गा पहेँलो घेरामा। तस्बिरः गुगल म्याप

बालुवाटारस्थित प्रधानमन्त्री निवास वरिपरि (ललिता निवास)को जग्गा विवादबारे नेपाली कांग्रेस नेता सूवर्ण शम्सेरका परिवारले मुख खोलेका छन्।

बिहीबार उनका सन्तानमध्ये रूक्म, हेमाद्री र हाटक शम्सेर राणाले विज्ञप्ति जारी गर्दै पञ्चायत सरकारले जफत गरेको र पछि उक्त जग्गा आफूहरूलाई सरकारले फिर्ता गरेको जनाएका हुन्।

'ललिता निवास भित्रको जग्गा २०४७ साल जेठ १४ र १७ गते र साउन ८ मा मन्त्रिपरिषदको निर्णय अनुसार हामीले फिर्ता पाएका थियौं। २०६० सालमा हाम्रो नाममा रहेका सबै जग्गा बिक्री गरिसकेका छौं,' उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्।

पञ्चायत सरकारले आफ्नो जग्गा अधिग्रहण गरेको नभई जफत गरेको उनीहरूको जिकिर छ।

२०१७ सालमा राजा महेन्द्रले पञ्चायत लागू गरेपछि सूर्वण शम्सेर र उनका छोरा कञ्चन शम्शेर निर्वासित भए। यसपछि उनीहरूको नाममा रहेको जग्गा सरकारले जफत गरेको राणा परिवारको भनाइ छ।

'२०१८ साल फागुन २९ र चैत १० को सूचनाअनुसार २१ दिनभित्र नेपाल फर्केर नआए सम्पत्ति जफत हुने भनिएको थियो,' उनीहरूको विज्ञप्तिमा उल्लेख छ, 'हाम्रा बाबु तथा बाजे सूवर्ण शम्सेर र कञ्चन शम्सेर फर्केर नआएका कारण देखाई सरकारले सम्पत्ति जफत गर्नु भनी सबै बडा हाकिम तथा मजिष्ट्रेटहरूलाई पत्र लेखेको थियो।'

प्रकाशित मिति: : 2019-05-02 15:37:14

प्रतिकृया दिनुहोस्