आईसीसी वरियतामा तीन नेपाली खेलाडी, अलराउण्डरतर्फ पारस खड्का राेहित शर्मा र आन्द्रे रसेलभन्दा माथि

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालकाकप्तान पारस खड्कासँगै सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन्।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले स्थान बनाएका हुन्।

अलराउण्डतर्फ कप्तान पारस ३८ औं स्थानमा रहेका छन् । कप्तान पारस वरियतामा यथावत रहेका हुन्। ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठूलो वरियता हो।

कप्तान पारस अलराउण्डरमा भारतका रोहित शर्माभन्दा अघि छन् । रोहित ४० औं स्थानमा रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका आन्द्रे रसेल ४३औं स्थानमा रहेका छन् ।

अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औं स्थानमा उक्लिएका छन्। उनी यसअघि ५० औं स्थानमा रहेका थिए ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झर्दै ९५ औं स्थानमा पुगेका छन्। अघिल्लो महिना पारस ९२ औं स्थानमा थिए ।

बलिङको वरियतामा सोमपाल र बसन्तले सुधार गरेका छन्। समान ४०९ अंक पाएका सोमपाल ६८ र बसन्त ६९ औं स्थानमा छन् । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा थिए। टी ट्वान्टी वरियतामा ७८० अंकसहित अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन्।

आईसीसी टिम वरियताको टी ट्वान्टी र एक दिवसीय वरियतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ।

प्रकाशित मिति: : 2019-05-01 19:55:08

प्रतिकृया दिनुहोस्