जापानमा शनिबारआएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार उक्त आँधीमा परि १७ जना हराइरहेका छन् भने १८९ जना घाइते भएका छन् ।
आँधीपछि सरकारले दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कयौ उद्धारकर्ताहरू पीडितलाई राहत पुर्याउन खटाएको जनाएको छ।मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।
हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ र बाढी समेत आएको बताइएको छ।नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।
टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।
आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा ६० वर्ष यताकै सवैभन्दा शक्तिशाली मानिएको छ ।