सगरमाथामा पछिल्लो समय जीवन गुमाउँनेको संख्या घटेपनि मान शव भने ठुलो संख्यामा देखिन थालेका छन्।कहाँबाट आए त यतिका संख्यामा यी शव ? आइसफल डाक्टरहरू पनि अचम्ममा परेका छन्।
पर्यटन विभागको तथ्यांकअनुसार अहिलेसम्म सगरमाथा आरोहणका क्रममा दुई सय ७९ जनाको ज्यान गएको छ।पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भन्छन्- 'तीमध्ये अधिकांश लाश व्यवस्थापन गरिसकिएका छन्।'
तर, महानिर्देशकको भनाइसँग आइसफल डाक्टर सहमत छैनन्।एक आइसफल डाक्टर तेम्बा शेर्पा भन्छन्- 'कम्तीमा पनि एकतिहाई लाश अझै पनि सगरमाथामै हुनुपर्छ।' उनको भनाइलाई आधार मान्ने हो भने अहिले पनि एकसयको हाराहारीमा सगरमाथा आरोहण क्षेत्रमा लाश हुनुपर्छ। सगरमाथा आरोहण क्षेत्र भन्नाले आधार शिविरदेखि सगरमाथा शिखरसम्म भन्ने बुझ्नुपर्छ।
सगरमाथामा केही वर्षयता हरेक वर्ष सगरमाथा दिवशको अवसर पारेर सफाइ अभियान चलाइदै आएको छ। यस क्रममा सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्न गरिन्छ।केही वर्षयता भने शव व्यवस्थापनको कुरा पनि उठेको छ र केही मात्रामा शव पनि व्यवस्थापन गरिदैछन्।
तर, सबै शव व्यवस्थापन गर्न सकिएका छैनन्। यसको कारण बारे पर्यटन विभागका महानिर्देशक घिमिरे भन्छन्- 'एउटा शव झिक्न शव रहेको स्थानको प्रकृति हेरेर ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्छ। यही कारण धेरै शव खर्च अभावका पनि उतै बेवारिसे भएका हुन्।'
यस वर्ष पनि वैशाद १ गतेदेखि सगरमाथा सरसफाई अभियान चलाइएको छ। सरकारी र गैरसरकारी दुबैखाले संघ संस्थाको संलग्नतामा जारी अभियानमा यसपटक भने शव व्यवस्थापनलाई विशेष महत्व दिइएको छ।पर्यटन विभागका महानिर्देशक घिमिरे भन्छन्- हामीले यसपटक देखिए र भेटिए जित शव व्यवस्थापन गर्ने नीति बनाएका छौं। जति नै खर्च लागे पनि हामीले सगरमाथालाई शवविहीन बनाउँनै पर्छ।'
सगरमाथामा पछिल्लोपटक बढी नै शव देखिनुमा धेरै कारण रहेको सम्बन्धित विज्ञहरू बताउँछन्। सन् २०११ देखि नै सरसफाई अभियान चलाएका सगरमाथा आरोही हुन् पिके शेर्पा भन्छन्- 'यी शवहरू धेरै वर्षअघि ज्यान गुमाएका आरोहीहरूको हुनुपर्छ।हिउँ पग्लेपछि ती शव बाहिर निस्केका हुन्।'
अर्का आइसफल डाक्टर आङ्गगेलु शेर्पा पनि पी के शेर्पाकै भनाइमा सहमति जनाउँदै थप्छन्- 'अहिले आरोही, पथप्रदर्शकहरूलाई धेरै सुविधासम्पन्न सामग्री छन्, पहिले जस्तो हैन। त्यसैले अहिले मर्नेको संख्या कम छ।फेरि मरे पनि लाश ल्याइहाल्ने गरिएको छ।त्यसैले यी शव अहिलेका हैनन्, पहिलेका हुन्।'
पर्वतारोही कामीरिता शेर्पा सगरमाथामा भेटाइने धेरै शव विदेशीका भएको बताउँछन्।उनीहरूको जिम्मा लिने कोही पाइदैन। त्यसैले त्यस्ता शवहरूको व्यवस्थापन अलि चुनौतिपूर्ण भएको उनको ठम्याइ छ।उनी अगाडि थप्छन्- 'यसमा सरकारले नै जिम्मा लिनुपर्छ।'
उनको विचारा बेवारिसे शव सगरमाथाका लागि राम्रो कुरा हैन। त्यस्ता शव देख्दा जो कोहीलाई पनि डर लाग्छ र माथि जाँदा एक किसिमको साइकोलोजी बन्छ। त्यसैले त्यस्ता शव देखिने बित्तिकै तिनीहरूको व्यवस्थापनतिर ध्यान दिनुपर्छ।यसबाट बाहिरतिर पनि सकारात्मक सन्देश गएको छैन।