प्रधानमन्त्री ओलीको 'प्रिय गन्तव्य' चन्द्रागिरि रिसोर्ट मापदण्ड विपरित निर्माण भएको ठहर

तस्वीर: चन्द्रागिरि रिसोर्ट

प्रधानमन्त्री के पी शर्मा ओलीको प्रिय गन्तव्य बन्दै आएको चन्द्रागिरि रिसोर्ट स्वीकृत ईआईए मापदण्डअनुसार नबनाइएको पाइएको छ। पर्यटन विभागले गठन गरेको अनुगमन समितिले रिसोर्ट स्वीकृत ईआईए प्रतिवेदनमा उल्लेख भए बमोजिमभन्दा फरक संरचनामा निर्माण गरिएको प्रतिवेदन दिएको छ।

प्रतिवेदनमा नेपालमा चन्द्रागिरि रिसोर्टले २०६९ भदौ १९ गते तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको ईआईएअनुसार निर्माण सम्पन्न भएका र निर्माणाधिन रिसोर्टको भवनबीच तालमेल नभएको उल्लेख गरिएको छ। 'स्थलगत अनुगमन पछि ईआईए बमोजिम नदेखिएको र निर्माण सम्पन्न नभएको हुदा तत्काल स्तर वर्गीकरण गर्न नसकिने' प्रतिवेदनले बताएको छ। 

रिसोर्टले स्वीकृत गराएको ईआईए प्रतिवेदनले मुख्य विशेषतामा भनिएको छ 'निर्माण सम्पन्न र निर्माणाधिन रिसोर्टको भवनबीच तालमेल नभएको तथा उल्लेखित भन्दा फरक संरचनामा निर्माण गरिएको पाइएको छ।'

तत्कालिन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मिति २०६९/५/१९ मा स्वीकृत ईआईए प्रतिवेदनमा ईआईए गर्नुपर्नाका कारणमध्ये होटल तथा रिसोर्टको ईआईए किन गर्नुपरेको हो सो समेत नखुलेको पाइएको पनि उल्लेख गरिएको छ।

स्तर वर्गीकरणको इजाजतपत्रका लागि उक्त रिसोर्टले निबेदन दिए पछि स्थलगत अनुगमनका लागि पर्यटन बिभागले पर्यटन विभागले चन्द्रागिरि रिसोर्टका अनुगमनका लागि एक पाँच सदस्यीय अनुगमन समुह बनाएको थियो।

पर्यटन विभाग, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र होटल संघ नेपाल (हान) समेतको प्रतिनिधित्व रहेको समुहमा पर्यटन विभागका तर्फबाट निर्देशक मिरा आचार्य, शाखा अधिकृत नारायण प्रसाद भट्टराई, इञ्जिनिय। सचिन्द्र कुमार यादव रहेका थिए भने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त ढकाल र होटल संघ नेपाल (हान) का प्रतिनिधि लव कार्की रहेका थिए।

ब्रेक एन लिंक्सले प्रतिवेदनका बारेमा बुझ्नलाई अनुगमन समुहमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यसँग सम्पर्क गर्न खोज्दा उनी उपलव्ध भइनन्। अर्का एक सदस्यले नाम नबताउने शर्तमा भने- 'यो भनेको एक किसिमको घरको नक्सा पास गराएर अर्कै किसिमको घर बनाउँनु जस्तै हो। त्यसैले यो अवैद्य काम हो। यस्तो गर्नेलाई दण्डित गर्नुपर्ने हो।' उनले बताए 'अव पुरक ईआईए गर्नु पर्ने हुन्छ तर रिसोर्टले आनाकानी गरेको छ।'

चन्द्रागिरि रिसोर्ट पछिल्लो समय नेपालका ठुला पावर ब्रोकर चन्द्र ढकालको रिसोर्ट हो। यो रिसोर्टका बारेमा विगतमा पनि अनेक विवादहरू मिडियामा छताछुल्ल भएका थिए। तर, उनले त्यतिबेला एउटा नाम चलेको मिडियालाई टिप्स शेयर दिएर मुखमा बुजो लगाइ दिएका थिए।

सरकारी सम्पतिको दोहन गरेको र वातावरण विनाश गरेको भन्दै स्थानीय बासिन्दा चन्द्रागिरि रिसोर्टसँग खुशी छैनन्।

प्रकाशित मिति: : 2019-04-16 09:39:52

प्रतिकृया दिनुहोस्