परिवारमा सात जना थिए, तीन पुरुष र चार महिला। दुई साताअघिको आँधिले परिवारका चारै जना महिलाको घरले थिचिएर ज्यान गयो। बचेका तीन पुरुष आइतबार त्यही भग्नावशेषअगाडि लहरै बसेर बाटोतिर टोलाइरहेका थिए।
सारा मुलुकले २०७६ सालको नयाँ वर्ष मनाइरहँदा भर्खर सूर्योदय भएको पुरैनिया गाउँ भने अझै शोकमा डुबेको थियो। त्यसमा पनि सबैभन्दा मन थामिन्थ्यो, फेटा गाउँपालिका–६ स्थित पुरैनियाका हैदर अन्सारीको यी तीनपुस्ते बाबुछोरा देखेर।
म एकाबिहानै वीरगन्जबाट साइकल हाँकेर करिब १५ किलोमिटर पर यो गाउँ आइपुगेको थिएँ। नारायणी सिँचाइ आयोजनाको गण्डक नहर किनारै किनार।
सिँचाइका इन्जिनियरहरूलाई कुदाउन तयार पारिएको यो कच्ची सडकले दशकौंसम्म हुलाकी राजमार्ग नबनेका पर्सा, बारा र रौतहटका देहाती भेगलाई यातायात सुविधाले प्राण दिने काम गर्दै आएको छ।
यस परियोजनाबाट गाउँलेले मनग्गे खेती गर्न पानी पनि पाउनुपर्ने थियो। तर, गण्डक (नारायणी) नदी थुनेर भारततर्फ बगेको समानान्तर नहरमा सदैव पानी बगिरहँदा पनि नेपालतर्फको सानो नहरमा भने भारतले पानी दिन कञ्जुसी गर्दै आएको छ।