शनिबार, १२ जुलाई २०२५

मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2025-07-08 08:20:00
Break n Links
• • •

छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी भन्सार यार्डमा रहेका ९ जना स्थानीय नागरिक, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्ले चारै तिरबाट बाढीले घेरेपछि फसेका छन्। उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। तर, नदीको बहाव तीव्र बन्दै गइरहेकोले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। हालसम्म कुनै मानवीय क्षति भने रिपोर्ट गरिएको छैन।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ। यसैगरी विहान ५ बजे नं. २० गुल्म रसुवाबाट रविन्द्र दाहालको कमाण्डमा २१ जना टोली (जसमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त) उद्धार सामग्रीसहित स्याफ्रुबेसीबाट घटनास्थलतर्फ पठाइएको छ। तर, सडक चर्केर अवरुद्ध भएकाले उनीहरू ६:२० बजेपछि पैदलमार्ग हुँदै गइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?