नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल पुगेको छ।
जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले १४.४ ओभरमै भेटाएको थियो। त्यसक्रममा नेपालको एक विकेटको क्षति भयो।
नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रनको योगदान गरे। ३५ बलमा उनले पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए। त्यस्तै शिवान्श बजगाईंले अविजित २३ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा ९० रनमात्रै बनाएको थियो। यो ओभरसम्म उसका सबै विकेट सकिएका थिए।
अब हङकङ र सिङ्गापुर मध्येका एकसँग नेपाल फाइनलमा भिड्नेछ।