अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) का सामग्रीमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि फेरि अर्को विवाद सुरु भएको छ। ईयूले यसलाई अमेरिकाको ‘धम्की’ भनेको छ। र बरु सम्मानजनक सम्झौताका लागि ईयू सधै तयार भएको पनि जनाएको छ।
ईयू अमेरिकाको मुख्य आयात ब्यापार केन्द्र हो। ईयूका प्रतिनिधिसँग ब्यापार वार्ताले गति नलिएको र उनीहरूले चासो नदिएको भन्दै ट्रम्पले आगामी जुन १ देखि ईयूबाट अमेरिका पुग्ने सबै सामग्रीमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका हुन्।
उनले अब कुनै पनि सम्झौताका लागि आफू तयार नभएको भन्दै सबै ढोकाहरू बन्द भएको घोषणा पनि गरेका छन्।
‘हामीले सम्झौता तय गरिसकेका छौं त्यो भनेको ५० प्रतिशत भन्सार कर नै हो’ उनले भनेका छन्।
ईयूका ब्यापार प्रमुख मुख्य २७ ब्यापारिक साझेदारहरू अमेरिकासँग सम्मानजनक सम्झौताका लागि तयार भएको बताएका छन्।
‘ईयू त्यस्तो सम्झौताका लागि तयार छ जसबाट दुबैलाई लाभ हुनेछ र त्यो सम्मानजनक हुनेछ’ ईयूका ब्यारा आयुक्त मारोस सेफकोभिकले भनेका छन् ‘ब्यापारमा धम्की होइन, सम्मानजनक सम्झौता चाहिन्छ।’
अमेरिकाले वार्षिक ६०० बिलियन डलरभन्दा धेरैको सामग्री ईयुबाट आयात गर्छ भने युरोपेली राष्ट्रहरूमा लगभग ३७० बिलियन डलर बराबरको सामान पठाउँछ।
ट्रम्पले ईयूसँग अमेरिकालाई ठूलो ब्यापार घाटा भइरहेको भन्दै अब त्यसलाई बेहोर्न नसकिने र कुनै सम्झौता पनि नहुने बताएका छन्।