कैयौं अन्तर्राष्ट्रिय दबावका वाफजुद पनि इजरायलले गाजापट्टीमाथि भिषण आक्रमण गरिरहेको छ। दुई सातादेखि इजरायलले गाजामाथि आफ्नो ‘निर्णायक युद्ध’ भनेर आक्रमण सुरु गरेको थियो।
बितेको २४ घण्टामा मात्रै त्यो क्षेत्रमा इजरायलले गरेको आक्रमणबाट कम्तीमा ४८ जनाको ज्यान गएको छ। सातादिनभित्रै लगभग ५०० भन्दा धेरै मानिस मारिएका छन्।
त्यो भन्दा पनि अझ दयनीय त त्यहाँ भोकमरी सुरु भएको छ। र युद्धबाट भन्दा भयानक मृत्यु नागरिकले भोकमरीको भोग्नुपर्ने भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। उसले आगामी ४८ घण्टामा पनि त्यहाँ खाद्यान्न र राहत पुग्न सकेन भने १४ हजार बालबालिकाको ज्यान जानसक्ने चेतावनी पनि दिएको छ।
यसअघि त्यहाँ खाद्यान्न र राहतमाथि नाकाबन्दी लगाएको इजरालले दुई दिनअघिमात्रै खाद्यान्नले भरिएका पाँचवटा ट्रक प्रवेश गर्न दिने भनेको थियो। तर त्यो बाँडिएकै छैन।
सोमबारमात्रै बेलायत, फ्रान्स र क्यानडा तथा कैयौं युरोपेली नेताहरूले इजरायलाई तत्काल युद्ध रोक्न र गाजा क्षेत्रमा मानवीय सहायता भित्रिनका लागि वातावरण बनाउन संयुक्त आह्वान गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युरोपेली नेताहरूको आह्वानलाई स्वागत गर्दै इजरायल र हमासलाई तत्काल युद्ध बिराम गर्न भनेका थिए।
युरोपेली नेताहरूले तत्काल शान्तिका लागि कदम नचाले इजरायलमाथि अझै कैयौं प्रतिबन्धहरू लाग्नसक्ने र युरोपेली देशहरू उसमाथि हदैसम्मको कारबाहीमा उत्रिनसक्ने चेतावनी दिएका थिए।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने आफ्नो प्रतिरक्षाको अधिकार भन्दै कसैले धम्की दिँदैमा युद्ध नरोकिने जवाफ दिएका छन्। उनले गाजा क्षेत्रलाई अब इजरायलको नियन्त्रणमा लिएरै छोड्ने भन्दै हमासको आतंकवादलाई निमिट्यान्न पार्ने पनि बताएका छन्।
उनको अभिव्यक्तिले तत्काल नै युद्ध रोकिने संकेत देखिएको छैन। हमासविरुद्ध कारबाही भन्दै इजरायलले गाजा क्षेत्रमा आफ्ना सैनिकहरू समेत तैनाथ गरेको छ। गत सातादेखि इजरायली सेनाले त्यहाँका अस्पताल र विद्यालयहरूलाई निशाना बनाइरहेको छ।
सन् २०२३ मा हमासले अचानक इजरायलमाथि सयौं क्षेप्यास्त्रहरू प्रहार गरेपछि इजरायले युद्ध सुरु गरेको थियो। त्यो बेला १० जना नेपाली मारिएका थिए। त्यस्तै हमासले कैयौ नागरिकलाई बन्धक पनि बनाएको छ। नेपाली विद्यार्थी बिपीन जोशी पनि अझै हमासकै नियन्त्रणमा छन्। तर उनको अवस्थाबारे अहिलेसम्म केही पनि विवरणहरू छैनन्।
इजरायली प्रधानमन्त्री नेतन्याहूले आफूले पनि युद्धमात्रै नचाहेको भन्दै आफ्ना सबै बन्धकहरूलाई बिनाशर्त छोड्न हमास तयार भए तत्कालै युद्ध रोकिने बताएका छन्।