भारत-पाकिस्तानको ‘युद्ध-तयारी’मा इरानको इन्ट्री

Break n Links
Break n Links

इरानका विदेशमन्त्री अब्बास अरागचीले पाकिस्तानको भ्रमण गरेका छन्। यसअघि नै उनको भारत भ्रमण तय भइसकेको थियो। तर पहलगाम आक्रमणपछि उनी पहिला पाकिस्तान पुगेका हुन्। सोमबार नै इरान फर्केर उनी फेरि बुधबार भारत भ्रमणमा जाँदैछन्। 

गत अप्रिस २२ मा जम्मु कश्मिरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएका थिए। त्यसमा एकजना नेपाली पनि मारिएका थिए। 

त्यसपछि भारत र पाकिस्तानबीच ‘युद्ध’ तयारीजस्तो तनाव चलिरहेको छ। दुबैले एकअर्का विरुद्ध कडा निर्णयहरू लिँदै गएका छन्। 

यसबीचमा इरानले दुबै राष्ट्रबीच तनाव कम गर्न मध्यस्थता गर्न चाहेको संकेत गरेको थियो। त्यहीअनुरुप पूर्वनिर्धारित भारत भ्रमण जानुअघि इरानका विदेशमन्त्री पाकिस्तान पुगेका हुन्। उनले पाकिस्तानमा त्यहाँका विदेशमन्त्री इसहाक डार, प्रधानमन्त्री सहवाज सरिफ तथा राष्ट्रपति आसिफ अली जरदारीलगायतलाई भेटेका थिए। 

पहलगाम आक्रमणपछि इरानका विदेशमन्त्री अरागचीले दुबै राष्ट्रबीच सहमति कायम गर्नका लागि इरान तयार रहेको भन्दै भारतप्रति सहानुभूति प्रकट गरेका थिए। 

‘यो मुस्किलको समयमा नयाँ दिल्ली अनि इस्लामावादमा रहेका हाम्रा कुटनीतिकहरूमार्फत दुबै राष्ट्रबीच समझदारी गर्न, गराउन इरान तयार छ’ उनले भनेका थिए। 
उनी यो भ्रमणमा निस्किनुअघि इरानका राष्ट्रपति मसूद पेजेश्कियनले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर घटनाको निन्दा गरेका थिए। त्यसपछि उनले पाकिस्तानका प्रधानमन्त्रीलाई पनि फोन गरेर संयमतापूर्वक निर्णयहरू लिन भनेका थिए। 

भारत र इरानबीच ऐतिहासिक, रणनीतिक र ब्यापारिक सम्बन्ध पनि मजवुत छ। 
 

प्रकाशित मिति: : 2025-05-06 07:48:00

प्रतिकृया दिनुहोस्