प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा निस्केका छन्।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको टोली मंगलबार थाई एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो।
ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन्। उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन्। प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।
000
सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ।
मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताएका हुन्।
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको उनले बताएका थिए।
000
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो।
तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हाे।
000
राजावादी प्रदर्शनको क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका युवा सविन महर्जनको शव पोर्टमार्टम गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको हाे।
पोष्टमार्टम रिपोर्ट अनुसार महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको दायाँ हातको साइडमा गोली लागेको पछाडिबाट निस्केको पाइएको छ।
000
तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले एक्स-रे गर्नुपर्ने अडान लिएका छन्।
टिचिङ अस्पतालका फरेन्सिक विभागका चिकित्सकले रजकको पोस्टमार्टम गर्नुअघि एक्स-रे गर्नुपर्ने अडान लिएका हुन् ।
भोलि विवाद हुनसक्ने भन्दै चिकित्सकले पहिला एक्सरे गर्नुपर्ने अडान लिएको बताइएकाे छ।
000
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गरेका छन्।
राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गर्दै उनले राजामा हुनुपर्ने त्याग, तपस्या र बलिदान ज्ञानेन्द्रमा नभएकाे बताएका हुन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी भएकाे बताएका थिए।
000
प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हाे।
७४ वर्षीय बोहरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका थिए। साढे तीन वर्षदेखि उनी बोल्न नसक्ने ढंगले बिरामी भएका थिए।
000
संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ।
पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ।