न्याय माग्दै सर्वोच्च पुगे कुलमान, एउटालाई हटाएँ अर्कालाई नियुक्त गरेँ-‍ओली (दिनभरका समाचार)

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापनाको माग गर्दै उनी बुधबार सर्वोच्च पुगेका हुन्।

नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन्।

 कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको भनी रिट निवेदनमा उनको जिकिर छ।

000

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयले संसदमा हंगामा मच्चाएको छ। 

आजै दुईपटक बसेको संसदमा सरकार नआएपछि बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठक सहज रुपमा सञ्चालन गर्न पटकपटक आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक स्थगित भएकाे हाे। 

प्रतिपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएका छन्। 

000

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै आफूले जवाफ दिइरहनुपर्ने आवश्यक नभएकाे बताएका छन्। 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसद्‌मा विपक्षी दलहरुले जवाफ मागिरहेको बेलामा उनले यस्तो बताएका हुन्।

बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै एउटालाई हटाएर अर्काेलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीकाे जवाफ रहेकाे उनकाे भनाइ थियाे। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताएका हुन्। 

ओलीले शान्ति प्रक्रियाको बाँकी कामको विषयमा छलफल गर्न बोलाएको र त्यो बैठकमा कुलमानबारे कुनै चर्चा नभएको प्रचण्डले स्पष्ट पारेका थिए। 

 000

 दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका हुन्।

ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने उनको माग छ। 

000

सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन्।

बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन्। तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको  थिएन।

000

रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन्।

क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन। 

तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ।

000

इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन्।

सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको र दुई जना सर्वसाधारण पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

अहिले उनीहरू सबैकाे उपचार भइरहेकाे छ। 

000

काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।

बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ। 

000 

नेपाली यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ४२ मा झारेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ। तीन दिनको छनोटपश्चात् खेलाडीको संख्या ५८ बाट ४२ मा झारिएको हो।  

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको  अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुने तय छ।

प्रकाशित मिति: : 2025-03-26 20:04:00

प्रतिकृया दिनुहोस्