यूएईमा नेपालीकाे बदमासी, ८ महिनामा विदेशिए साढे पाँच लाख युवा (भिडियाे समाचार)

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई-कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन्।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

000

गृह मन्त्रालयले पूर्व प्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ।

गृहमन्त्री रमेश लेखकले सर्वोच्च अदालतले जफतका लागि फैसला गरेका घरजग्गजा सरकारको नाममा ल्याउने प्रक्रियाको थालनी गरेका हुन्।

सर्वोच्च अदालतको फैसला अनुसार जफत हुनुपर्ने घरजग्गा कसुरदारलेनै प्रयोग गर्दै आएका थिए।

गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको हो।

000

सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम गर्न नपाउने अन्तरिम आदेश दिएको छ।

अधिवक्ता खडानन्द कँडेलले ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू शारगङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो।

उद्योगीहरूसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले गत मंसिर २ गते योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको नेतृत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए।

000

अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा उनले राजस्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्युन बजेट विनियोजन गरिएको बताएका हुन्।

३१ प्रतिशतको राजस्व वृद्धिको लक्ष्यमा आधारित भएर बजेट प्रस्तुत गर्दा पनि कैयौं अनिवार्य दायित्वहरुमा पूरा विनियोजन गर्न नसकिएको अर्थमन्त्री पौडेलको थियाे। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन्।

शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए। बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवसमेत हुन्।

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई जनताले नचुनेको बताएका छन्। 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले यस्ताे बताएका हुन्। 

उनले वर्तमान व्यवस्था जनतालाई नभई ठुला-बडा सबै मिलेर खानलाई चाहिएको बताए। गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको दाबी थियो।

000

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र अरसठ्ठी हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन्। योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ।

यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो। 

000

यमनमा अमेरिकी आक्रमणमा मारिनेको संख्या ३१ पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि शनिबार रातिदेखि अमेरिकी सेनाले यमनको राजधानी सना लगायतका क्षेत्रमा हुथी विद्रोहीलाई लक्षित गरेर ठूलो परिमाणमा हवाई हमला गरेको हो।

आइतबार बिहानसम्म त्यहाँ मारिने हुथी विद्रोहीको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ।

हुथी विद्रीहीहरुले रेड सीमा अमेरिकी पानी जहाजलाई आक्रमण गरिरहँदा अर्बौं डलरको नोक्सानी ब्यहोर्नुपरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यमनमा आक्रमण गर्न आदेश दिएका हुन्।

000

संयुक्त अरब इमिरेट्स(युएई) मा मादक पदार्थ सेवन गरेर झगडा गर्ने नेपालीहरूको प्रवृति बढेको नेपाली राजदूतावास अबुधाबीले जनाएको छ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने नेपालीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीपछि फिर्ता पठाइरहेको दूतावासले जनाएको हो।

दूतावासले नेपालीलाई समयमै सचेत रहन र मापसे गरेर होहल्ला नगर्न आग्रह समेत गरेको छ। 

प्रकाशित मिति: : 2025-03-16 20:38:00

प्रतिकृया दिनुहोस्