प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्।
बिहिबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिएका हुन्।
नेपाली जनताले फालेको राजतन्त्रबारे उल्लेख गर्दै कुर्सीमा बस्दैमा राजा नभइने उनकाे भनाइ थियाे।
000
राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ। बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो।
यसअघि बुधबार प्रतिनिधिसभाले पनि पाँच वटा अध्यादेशहरू स्वीकृत गरिसकेको छ।
सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो। तर राष्ट्रिय सभामा बहुमत प्रष्ट नहुँदा अध्यादेश निर्णयार्थ अघि बढ्न ढिलाइ भएको थियो।
000
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको स्पष्ट पारेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन्।
उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गर्दै सरकारलाई नटेरेकाे समेत बताए।
आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भएपनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको उनकाे भनाइ थियाे।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले–महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले त्यस्ता सपना नदेख्न समेत चेतावनी दिएका थिए।
000
कपा एमाले सांसद ईश्वरबहादुर रिजालले रङ्गशालामा दर्शक कुट्ने आफ्ना कार्यकर्ताको बचाउ गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रिजालले दर्शक कुट्ने व्यक्तिहहरु गुण्डा नभएर गणतन्त्रका सेनानी रहेको भन्दै बचाउ गरेका हुन्।
जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतान्त्रिक नेतृत्वमाथि प्प्हार हुन्छ, ती सेनानीहरू चुप लागेर नबस्ने उनकाे दाबी थियाे।
000
नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरी नाबालिग बलात्कार आरोपमा पक्राउ परेका छन्।
नाबालिगका आफन्तले बलात्कारको जाहेरी दिएपछि गिरीलाई आइतबार पक्राउ गरी कास्की ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले जानकारी दिए।
गिरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट सोमबार ६ दिन म्याद लिएको शर्माले बताए।
000
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने भएकाे छ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेको छ।
शहरी विकास मन्त्रालयले प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न दिन भन्दै महानगरलाई पत्राचार गरेको थियो। त्यसलाई अस्वीकार गर्दै महानगरबाट पत्राचार भएको हो।
000
काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न नपाउने भएको छ।
उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको हो।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो।
मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो।
000
नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष् राई कम्तीमा एक वर्ष मैदान बाहिर रहने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत फागुन ३ गते चीनको युनान प्रान्तीय टोलीविरुद्ध भएको खेलमा उनी विपक्षी खेलाडी मोरी डेलेको ट्याकलमा परेका थिए। उनको तीन ठाउँमा खुट्टा भाँचिएको थियो।
उनको बि–एन्ड–बि अस्पतालमा शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रिया सफल भएको र एक वर्ष मैदान बाहिर रहने उपचारमा संलग्न अर्थोपेडिक सर्जन तथा डाक्टर अमित जोशीले जानकारी दिए।