काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जति चर्चामा चुलिएका छन्, त्यत्ति नै विवादका चुचुराेहरू पनि छन्।
मेयरको कार्यकाल सुरु भएदेखि नै एमालेसँग भिड्न थालेका बालेन अहिलेसम्म पनि एमालेसँग लडिरहेका छन्। अहिले त एमालेकै सरकार छ। केही किलोमिटरको दूरीमा रहेको सिंहदरबार र बालेनबीच पहिलादेखि नै दूरी भने बढिरहेकै छ।
केही समयदेखि त सिंहदरबारले काठमाडौं महानगरलाई ‘नाकाबन्दी’ लगाएको भन्ने चर्चा चल्दै आएको छ। त्यसमाथि बालेनको ‘उपद्रो’ स्टाटसहरूको बाढी त छँदैछ।
काठमाडौं महानगरमा कर्मचारीहरू नटिक्ने अनि बालेनको नेतृत्वले विकास बजेट पनि खर्च गर्न नसकेको भन्ने आलोचनाहरूलाई उनले खासै वास्ता गर्दैनन्।
वडा अध्यक्षहरूदेखि लिएर सिधै प्रधानमन्त्रीसँग समेत डटेर सवाल जवाफ गर्ने बालेनसँग अहिले उनकै उपमेयर सुनिता डङ्गोल पनि बेखुस छिन्।
र, पनि बालेनलाई ‘बाल’ छैन।
सिंहदरबारसँग महानगरको दूरी बढेको बढ्यै छ। तर त्यो दूरी कम गर्न न सिंहदरबार अग्रसर हुन्छ न महानगरका प्रमुख बालेन कुनै कुटनीति अपनाउँछन्।
बरु मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर फेसबुकमा स्टाटस लेख्छन् र क्षणभरमै लाखौं ‘रियाक्सन’ बटुल्छन्। अनि एमालेका कार्यकर्ताहरू फेरि उनिमाथि खनिन्छन्।
बालेनले कार्यकाल सम्हालेदेखि अहिलेसम्म काठमाडौं महानगरमा चार जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन्।
भएका एकजना प्रशासकीय अधिकृतलाई बालेनले निलम्बन गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई तीन महिनाअघि बालेनले निलम्बन गरेका थिए। उनलाई काम गर्न नदिएर बालेनले सिंहदरबारसँग भने अर्का प्रशासकीय अधिकृत मागिरहेका छन्।
काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा यहाँका कर्मचारीहरूको तलव भुक्तानी हुन सकेको छैन। करिब ३५ सय कर्मचारीले तीन महिनादेखि तलव नखाएरै काम गरिरहेका छन्।
भुक्तानी रकम पनि बाँकी छ।
कैयौं विकासे कामहरू रोकिएका छन्। प्रशासकीय अधिकृत नहुँदा महानगरका आर्थिक तथा प्रशासनिक कामहरू प्रायठप्प छन्।
केही दिनअघि सरकारले देशभर ७८ जना सहसचिवहरूको सरुवा र पदस्थापन गरेको थियो। तर काठमाडौं महानगरका लागि भने ती ७८ जना अधिकृतमध्ये कोही परेनन्।
सरकारले यसपालि पनि प्रशासकीय अधिकृत नदिएपछि बालेनले एउटा स्टाटस लेखेर प्रधानमन्त्री ओलीलाई फेरि डायलग हाने।
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नुभाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला ’ बालेनले सामाजिक सञ्जालमा लेखेका थिए।
मेयर बालेन आफू सिंहदरबारसँग भिड्दै गर्दा यता महानगरको आन्तरिक प्रशासन र दैनिक कार्यसञ्चालन भने अस्तव्यस्त बनेकाे छ।