ओलीसँग बचेर बस्न शेरबहादुरलाई नेपालको सुझाव (भिडियो समाचार)

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन्। समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन्। 

युद्धले विनास र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास भइरहेकाे उनकाे भनाइ थियाे।

000

गृहमन्त्री रमेश लेखकले देश विकासका लागि कांग्रेस र एमाले मिलेकाे बताएका छन्। शुक्रबार नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र नभइ देश विकासका लागि दुई पार्टी मिलेकाे बताएका हुन्। अहिलेकाे सरकारले देशमा दिगो शान्ति र सुशासन ल्याउनका लागि बनेकाे गृहमन्त्रीकाे भनाइ थियाे।

000

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले देशलाई मरूभूमिकरण गर्ने कानून ल्याउने काम गरेको आरोप समेत लगाए।

उनले अध्यादेश पास भएमा सुकुम्बासीको नाममा भूमाफिया, बिचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्बासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा सुरू हुने समेत बताएका थिए। 

000

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शेरबहादुरलाई सचेत रहन आग्रह गरेका हुन्। प्रधानमन्त्रीलाई विश्वास गरे नर्क पुग्ने भन्दै नेपालले देउवालाई हाेसियार रहन सुझाव दिएका थिए।  

000 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन्। 

 जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्ताे दाबी गरेका हुन्। उनले अब मधेसी जनताकाे सम्पूर्ण मुक्तिकाे जिम्मेवारी माओवादीले लिने बताएका थिए।  

000

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेकाे छ। हालसम्म १० वर्षदेखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए। उनका अनुसार यो कुल लक्ष्यको ९२ प्रतिशत हो। 

000

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको हाे। आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ। 

000 

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। शुक्रबार बिहान उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। महराजगन्जस्थित प्रहरी अस्पतालमा ८४ वर्षकी श्रेष्ठकाे निधन भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।  

000 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकटताका कारण क्यानडेली जनताले 'टेस्ला' कम्पनीका मालिक इलन मस्कलाई दिएको क्यानडाको नागरिकता खोस्न माग गरेका छन्।

ब्रिटिस कोलम्बिया राज्यका लेखक क्वालिया रिडले फेब्रुअरी २० मा सुरू गरेको सो संसदीय प्रस्तावमा अहिलेसम्म तीन लाखभन्दा बढी क्यानडेली जनताले हस्ताक्षर गरिसकेका छन्।

 मस्कको नागरिकता खोस्न अभियान सुरू भएपछि उनले आफ्नै सामाजिक सञ्जाल 'एक्स' मा क्यानडा खासमा देश नै होइन भनेर लेखेका थिए। धेरै विरोध भएकाले उनले पछि त्यो पोस्ट हटाए। उनी ट्रम्पले भर्खरै बनाएको डिपार्टमेन्ट अफ गभर्न्मेन्ट एफिसियन्सी (डोज) का प्रमुख हुन्।

000
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रीस प्रस्थान गरेकी छिन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका थिए।

प्रकाशित मिति: : 2025-02-28 22:24:00

प्रतिकृया दिनुहोस्