आज ग्याल्पो ल्होसार। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ।
शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन्। ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन्। शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन्। उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन्।
तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ। शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङे लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल बढेर २२ जिल्लामा मनाइन्छ।
ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवालगायतले शुभकामना सन्देश जारी गरेका छन्।