अञ्जला काेइरालालाई १० लाख धरौटीमा छाड्न आदेश

Break n Links
Break n Links

मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी अञ्जला काेइरालालाई अदालतले १० लाख धराैटीमा छाड्न आदेश दिएको छ। 

मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बुधबार १० लाख धरौटीमा छाड्न आदेश दिएको  हाे। संघीय संसदअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी श्रीमतीसमेत रहेकी काेइराला बुधबार जिल्ला अदालत माेरङमा आफै उपस्थित भएकी थिइन्।

उपस्थित लगत्तै उनको बयानपछि थुनछेक बहस भएको थियो। सहकारीको पूर्वत सञ्चालक रहेकी उनी अदालतमा मुद्धा दायर भएसँगै फरार भएकी थिइन्। 

एमाले सांसद पाेखरेलको श्रीमति भएको र पहुँचको भरमा उनीलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलाेचना भएको थियाे। 

त्यसपछि साेमबार उनीमाथि पक्राउपूर्जी जारी भएको थियाे। बुधबार आज उनी पक्राउ पर्ने डरले अदालतमा उपस्थित भएकी हुन्। 

उनी साेही ठाउँको महेन्द्र रात्रि माविकी शिक्षिका पनि हुन्। 

उमागौरी सहकारी ठगी प्रकरणमा यसअघि नै एक जना पुर्पक्षको लागि थुनामा गएका थिए भने एक जना धरौटीमा रिहा भएका थिए। 

अझै २३ जना प्रतिवादी अझै फरार रहेका छन्।

गत मंसिर २७ गते सरकारी वकिलको कार्यालयले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेकाे आरोपमा काेइरालासहितका २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

याे पनि– सहकारी ठगीमा फरार रहेकी अञ्जला काेइराला अदालतमा उपस्थित

प्रकाशित मिति: : 2025-01-08 18:07:00

प्रतिकृया दिनुहोस्