नेकपा माओवादी केन्द्रले संसदकाे हिउँदे अधिवेशन बोलाउन दबाब दिने बताएकाे छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताएका हुन्।
‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ। म सभामुखमा हुँदाखेरि मंसिरमै हुने गरेकाे थियाे, १२ गतेभन्दा त ढिला गएकै थिए। अहिले त हामी १९ गतेमा छलफल गर्दैछाैँ। भनेपछि सर्वथा बेठिक कुरा भइराखेको छ’, चाँडाे भन्दा चाँडाे सदन आह्वान गर्नुपर्छ।’
उनले सरकारको नियत राम्रो नदेखिएको भन्दै पार्टी फुटाउने अध्यादेश ल्याउन संसद छलेकाे दाबी गरे।
‘सरकारको नियत राम्रो देखिएको छैन। सदन छलेर, संसद छलेर सरकारले अध्यादेश ल्याउन खाेज्दैछ। त्याे अध्यादेश पनि केका लागि भन्दाखेरि पार्टीहरूलाई विभाजन गर्नका लागि, पार्टी फुटाउनका लागि गर्दैछ। सरकारको यी गतिविधि सबै हेर्दाखेरि संसद बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने यी सबैले गर्दा लोकतन्त्रमाथि निकै गम्भीर समस्या पैदा हुँदैछ। याे सामान्य कुरा हाेइन’, उनले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद हो। संसद नै नबोलाएपछि लोकतन्त्र त फस्टाउँदैछ। लोकतन्त्र स्थापित गर्नका लागि कमसेकम बैठक त समयमा बोलाउनुपर्यो। बैठक समेत समयमा नबोलाउने भएपछि त्याेभन्दा गम्भीर कुरा केही हुन सक्दैन। अब हामी संसदमा भएका सबै पार्टीसित पनि छलफल चलाउँछौँ र प्रभावकारी दबाब सिर्जना गर्छौं।’