गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए।
‘अहिले चुनौतीका रुपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस्।’
सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रहसमेत गरे।
मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए।
‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ’, उनले भने, ‘विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ।’
त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन जोड दिए।
यस्तै विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिव दुगाडीले निर्देशन दिए। ‘सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस्’, सचिव दुवाडीले भने, ‘जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ।’
भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधीकारीहरु सहभागी थिए।