एक दिन उनको फेसबुकमा एउटा म्यासेज रिक्वेस्ट देखियो। रातको समयमा आएको त्यो म्यासेजमा लेखिएको थियो- ‘म यूकेमा प्रतिष्ठित डाक्टर हुँ…म नेपालका गरिब व्यक्तिहरूलाई सहयोग गर्न चाहन्छु…।’
एउटै क्षेत्रको पेशा, यूकेमा बस्ने प्रतिष्ठित व्यक्ति।
काठमाडौंमा डेरा गरी बस्ने काभ्रेकी उषाले उनको त्यो रिक्वेस्ट तुरन्तै एक्सेप्ट गरिन्। जब उनीहरू फेसबुकमा ‘साथी’ भए अनि कुराकानी बाक्लिदैं गयो। एकअर्कामा उनीहरू परिचितजस्तै हुन थाले। विस्तारै सामाजिक सञ्जालका अरु प्लेटफर्महरूमा पनि जोडिए। ह्वाट्स एप् नम्बर पनि साटासाट भयो।
यहीबीचमा पश्चिमा देशहरूमा क्रिसमसको उत्सव सुरु भयो। नेपालमा पनि त्यो उत्सवको रौनक हुन्छ नै। कुराकानी हुँदै जाँदा एक दिन ती व्यक्तिले उषालाई म्यासेज लेखे, ‘तिमीलाई म व्यक्तिगत उपहारहरू पठाउन चाहन्छु…कृपया तिम्रो ठेगाना र अरु डिटेल्सहरू दिनू…।’
सुरुमा त उषालाई पत्यार लागेन। तर त्यसपछि फेरि यूकेबाट डा. अन्नाले फकाइफुल्याइ गर्छन् र भन्छन् ‘क्रिसमसमा अरुलाई गिफ्ट पठाउँदा पुण्य हुन्छ…।’ त्यसपछि उषाले पनि आफ्नो सबै व्यक्तिगत विवरणहरू दिन्छिन्। अनि डा. अन्नाले आइफोन, गरगहना र श्रृङ्गारका सामानहरूको प्याकेट पार्सल गरिएको भिडियो पठाउँछन्। यता उषा मख्ख पर्छिन्। र त्यो उपहारको पर्खाइमा सपना पनि बुन्न थाल्छिन्।
अर्को दिन राति ९ बजेतिर फेरि एउटा नम्बरबाट उषालाई कल आउँछ। उनले त्यो कल रिसिभ पनि गर्छिन्। फोनमा कसैले भन्छ ‘यूकेबाट तपाईंको नाममा एउटा पार्सल आएको छ। त्यसका लागि सरकारलाई कर तिर्नुपर्ने हुन्छ। यो क्यूआरमा तुरन्त १७ हजार २६५ रुपैयाँ पठाउनु होला…।’
उषाले यो कुरा डा. अन्नालाई शेयर पनि गर्छिन्।
‘तिमीले मैले पठाएको गिफ्ट इग्नोर गर्न पाउँदिनौं। तिम्रो देशको नियम होला तर पार्सल गरेर सामान आफूले लिँदा पैसा लाग्दैन’ डा. अन्नाले म्यासेजमा भन्छन् ‘त्यो गिफ्ट तिमीले लिनैपर्छ। बरु त्यस्तो नियम छ भने पैसा तिर्नू। म अहिले पारिवारिक भ्रमणमा जर्मनीमा छु। फर्केपछि तिमीले तिरेको पैसा पनि म पठाइदिउँला…।’
यो विश्वासमा उषाले क्यूआरमा भनेजति रकम पठाउँछिन्। त्यहाँबाट फेरि अर्को म्यासेज आउँछ ‘तपाईंको रकम प्राप्त भयो। तपाईंको सामान भोलि बिहानै घरमा आइपुग्छ…।’
उषा ढुक्क भइन्।
फेरि अर्को दिन ह्वाट्स एपमै नयाँ नम्बरबाट फोन आयो। उषाले त्यो पनि रिसिभ गरिन्।
‘म भन्सारको कर्मचारी बोलिरहेको छु। तपाईंको पार्सलमा आईफोन, हिराका गहनाहरू पनि छन्। यस्ता चिजहरू नेपालमा ल्याउन प्रतिबन्ध छ’ फोनमा भन्सारका ती कर्मचारीले भनिरहेका हुन्छन् ‘यसबाट जोगिनका लागि मेरो चिनजानका साथीहरू छन्। तर उनीहरूलाई २ लाख ७० हजार जति पैसा दिनुपर्छ। नत्र कुरा मिलेन भने तपाईंलाई कारबाही पनि हुनसक्छ।’
उषालाई त्यसपछि तनाव हुन्छ। अनि सोच्छिन् ‘पुलिसको लफडामा पर्नुभन्दा त बरु पैसा नै दिन्छु…’ उषाले आफूसँग भएको नगद र नपुगेपछि आफ्ना सबै गरगहनाहरू बन्धकी राखेर भनेजति रकम क्यूआर गरिदिइन्।
रकम पाएपछि ती भन्सारको कर्मचारी हुँ भन्ने व्यक्तिले उषालाई सामान भोलिसम्म घरमा आइपुग्ने भनेर आश्वस्त पार्छन्।
अर्को दिन फेरि नयाँ नेपाली नम्बरबाट फोन आउँछ। त्यसमा उनै भन्सारको कर्मचारी हुँ भन्ने व्यक्तिले उषालाई भनिरहेका हुन्छन् ‘तपाईंको केस हेरिरहेका कर्मचारीलाई घुससहित प्रहरीले पक्राउ गरिसकेको छ। तपाईंलाई पनि खोजिरहेका छन्। तपाईंले सात लाख पचास हजार रुपैयाँ दिनुभयो भने तपाईंलाई जोगाउन सकिन्छ…।’
अब उषाका सबका सब सपनाहरू चकनाचुर भइसकेका हुन्छन्। आफ्नो कुरा उनले छेउकै कोठामा बस्ने एकजना दिदीलाई भन्छिन्। र ती दिदीले सबै कुरा सुनेपछि आफू पनि यसरी नै ठगिएको र साईबर ब्यूरोमा उजुरी दिएको बताउँछिन्। सँगै साईबर ब्यूरो लिएर जान्छिन्।
प्रहरीले सबै घटना सुनेपछि क्यूआरको अनुसन्धान गर्छ। त्यो खाता एकजना मुना नामको व्यक्तिको हुन्छ। ती पनि त्यसैगरी ठगिएकी व्यक्ति हुन्।
उनै डाक्टर अन्ना र मुनाको कथा
मुना एकल आमा हुन्। परिवारमा कुरा मिल्न नसकेपछि उनी आफ्नी १२ वर्षकी छोरीसहित अलग्गै भाडामा बसेकी हुन्छिन्। मुना र उनको श्रीमानबीच सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको छ।
उषालाई जस्तै उनलाई पनि एक दिन त्यही प्रकारको सन्देश लेखिएको रिक्वेस्ट आउँछ। मुनालाई आफ्नो आर्थिक अवस्था राम्रो नभएको र केही सहयोग भए छोरीको उपचारका लागि आशा जाग्छ। अनि डा. अन्नासँग सबै कुराहरू शेयर गर्छिन्। उनीहरूबीच प्रेमिल कुराकानी पनि हुन थाल्छन्।
एक दिन डा. अन्नाले आफू नेपाल घुम्न आउन थालेको र मुनाका लागि केही गिफ्टहरू ल्याइदिने कुरा बताउँछन्। महंगा देखि गरगहना, आइफोन अनि अरु सामानहरू समेत राखिएको लगेजको भिडियो देखेर मुना पनि मख्ख हुन्छिन्।
अर्को दिन मुनाको मोबाइलमा एउटा फोन आउँछ। त्यसमा कसैले भनिरहेको हुन्छ ‘अहिले म भारतको इन्दिरा गान्धी एयरपोर्टमा छु। यस्ता बहुमूल्य गरगहना र सामानहरू भेटिएपछि प्रहरीले पक्राउ गरेको छ। यहाँ आफ्नो एटिएम कार्ड चल्दैन। यहाँ मेरो केस जित्न वकिललाई पैसा तिर्नुपर्छ। पैसा तिरेपछि केस जितिन्छ र म नेपाल आएर तिम्रो छोरीको उपचार गरौंला…।’
मुनालाई पनि आशा लाग्छ छोरीको उपचार भइ पो हाल्छ कि…।
डा. अन्नाले भनेअनुसार मुनाले एनआइसी एशियामा आफ्नै नाममा खाता खोलेर त्यसको एटिएम र जेलमा जाडो होला भनेर ज्याकेट र लगाउनका लागि कपडाहरू समेत उनले कुरियर गरेर भारतीय ठेगानामा पठाइदिन्छिन्।
तर एक दिन, दुई दिन गर्दा गर्दै कैयौ दिन जेलबाट निस्किन अझै समय लाग्ने भन्दै डा. अन्नाले मुनालाई ढाँटिरहन्छन्। त्यसपछि आफू ठगिएकोजस्तो लागेर मुनाले साइबर ब्यूरोमा सबै कुरा भन्छिन्।
प्रहरीले अनुसन्धान गर्दै जाँदा मुनाले पठाएको एटिएमबाट २५ लाखभन्दा धेरै रकम झिकिएको देखिन्छ।
पछिल्ला केही दिनदेखि प्रहरीले यस्ता ठगीहरूको अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा यस्ता सयौं उजुरी परेका छन्।
यस्ता केसहरू बढ्न थालेपछि प्रहरीले सार्वजनिकरुपमा एउटा अपिल पनि जारी गरेको छ। त्यसमा प्रहरीले विभिन्न सामाजिक सञ्जालमार्फत फकाई फुल्याइ वा भावनात्मक कुरा गरेर पैसा असुल्ने अपराधहरू बढिरहेको भन्दै त्यसमा सचेत रहन भनेको छ। प्रहरीका अनुसार यस्ता मुद्दाहरूमा अधिकांश महिलाहरू ठगिएका छन्।
‘प्राविधिक ज्ञान र वित्तीय साक्षरताको अभावले फोन र इन्टरनेटको पहुँचमा भएको कतिपय व्यक्तिले सामाजिक सञ्जाल मार्फत कसैलाई छिटो विश्वास गर्ने र उनीहरूले भनेको कुरामा आँखा चिम्लेर भर पर्ने, आफ्ना मनका कुरा परिवार र साथीहरूलाई शेयर नगर्ने बानीले गर्दा धेरै मानिसहरू कानूनी झमेलामा पर्ने गरेका छन्’ साईबर ब्यूरोले भनेको छ ‘यस्ता किसिमका घटनाहरू विशेषगरी महिलाहरूलाई लक्षित गर्ने गरेको अनुसन्धानले देखाउँछ। आपराधिक गिरोहहरूले अरूलाई विश्वास दिलाई योजनावद्धरुपमा सामाजिक सञ्जालमार्फत ब्यक्तिले गर्ने गतिविधिहरूको निगरानी गरी, सोही अनुरूपको म्यासेज गरी फसाउने गरेका छन्।’