भ्रष्टाचारविरुद्ध आजपाले खबरदारी सभा गर्ने

आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारकोविरुद्धमा वीरगञ्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएकाे छ।

हालै भ्रष्टाचारविरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगञ्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको हो।

वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने मागसमेत आजपाले गरेको छ।

आजपा पर्सा जिल्ला कमिटीले आज (बिहीबार) वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेताहरु यस्तो जानकारी गराएका हुन्। आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको जानकारी दिए।

वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचारविरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते वीरगञ्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाएका छन्।

‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ तर सरकार मुकर्दशक बनेको छ। सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको छ। हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन्। मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गइरहेको छ। भ्रष्टाचारविरुद्ध आवाज उठाउने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौँ।’

आजपा महासचिव त्रिभुवन साह अमरले संघिय संरचना आउनुभन्दा अघि वीरगञ्जलाई राजधानी बनाउँने भनिए पनि वीरगञ्जसंग धोका भएको बताए।

प्रदेशको राजधानी वीरगञ्जलाई बनाउन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भइरहेको आरोप लगाए।

‘काठमाडौँ प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने? हामीले वीरगञ्जलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौँ,’ महासचिव साहले भने, ‘यदी वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौँ। अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे योभन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौँ।’

आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए।

भ्रष्टाचारविरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले वीरगञ्जमा खबरदारी सभा गर्न लागेको उनले बताए।

‘सरकारले हरेक क्षेत्र र बस्तुमा मनोमानी कर असुल्ने काम गरिरहेको छ। सर्वसधारणदेखी उद्योगी, व्यापारीसंग मनोमानी कर लिन पाइँदैन। हामी त्यसको विरोधमा छौँ। सरकारको मनोमानी कर आतंकले उद्योग, व्यापार सबै धरासायी बन्दै गइरहेको छ,’ कुशवाहाले भने, ‘भ्रष्टाचार बढ्दै गइरहेको छ, मुलुकको आर्थिक अवस्था बिग्रँदै गइरहेको छ। यस्तो अवस्थामा सरकारले मनोमानी कर असुल्ने धन्दा बन्द गर्नुपर्ने हाम्रो जोडदार माग हो। त्यसैका लागि हामीले वीरगञ्जमा खबरदारी सभा गर्न लागेका छौँ।’

आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्रविरुद्ध आवाज उठाउदै आएको छ।

प्रकाशित मिति: : 2025-01-02 16:32:00

प्रतिकृया दिनुहोस्