मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ।
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
रूम्बालाई आइतबार साँझ ५ बजेतिर घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो। यतिबेला बसन्तपुर गाउँ त्रसित बनेको छ।
मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो। आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँच सय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए।
मनहरीमा–४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो। गत ५ भदौमा मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो।
निकुञ्जले बुढो र घाइते भएकाले बाघलाई भैंसीको प्रहारले मृत्युको मुखमा पुर्याएको जनाएको थियो।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ।
स्थानीयले वन्यजन्तुको जोखिम न्युनिकरणका लागि तारबार लगाएर बस्ती क्षेत्रको संरक्षणको माग गर्दै आए पनि राज्यले ध्यान दिएको छैन। मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ।
मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगरसँग सीमा जोडिएको पर्वी क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ। पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२,१३,१४ नम्बर वडामा आंतक मच्याउँदै आएका छन्।