जनताको बलिदानबाट आएको संविधानलाई कमजोर बनाउने सोच राख्नु गलत: अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको बलिदान र त्यागबाट आएको संविधानलाई कमजोर बनाउने सोच राख्नु पनि गलत हुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपाली जनताले विभिन्न समयमा गरेको आन्दोलन, बलिदान, त्याग र तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट निर्माण गरिएको यो संविधान कसैले सजिलै लहरको भरमा भन्दिएर कमजोर हुन्छ कि भन्ने सोच राख्नु गल्ती हुने बताए।

उनले भने, ‘नेपाली जनताले विभिन्न समयमा गरेको विभिद् प्रकारको आन्दोलनहरु त्यो बलिदान, त्याग, तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट निर्माण गरिएको यो संविधान हो। यो कसैले सजिलै लहरको भरमा भन्दिएर कतै यो कमजोर हुन्छ कि भन्ने सोच राख्नुपनि गल्ती हुन्छ।’

संघीयताको विषयमा सबै चिन्तित भएतापनि संघीयता कार्यान्वयन नभएकोे विषयमा अलि बढी चिन्ता पैदा भएको बताए।

उनले भने, ‘संघीयताको विषयमा हामी सबै चिन्तित नै छौँ। संघीयता कार्यान्वयन भएको छैन भन्ने विषयमा अलि बढी चिन्ता हो। संघीयताप्रति वितृष्णा पैदा गर्नेहरुको जमात त्यस्तो होइन्। हामी आफैले संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा भोगिएका अप्ठ्यारा स्थितिहरुको कारणले पैदा भएका कतिपय विषयवस्तुले गर्दा यो खालको समस्या आएको हो।’

उनले अहिले पनि विभिन्न तवरबाट संघीयता र नयाँ व्यवस्थालाई असफल बनाउने प्रयास भइरहेको बताए।

त्यस्तै, उपाध्यक्ष विमला घिमिरेले समस्या मात्र देखाउने भन्दा पनि भएका उपलब्धिहरुलाई उजागर, त्यसको प्रचार र त्यो आम जनतामा पु¥याउन आवश्यक रहेको बताए।

उनले राष्ट्रियसभा कमजोर सभा हो, हामी कमजोर सभाको सदस्य हौँ भन्ने कुरा आउने गरेको भन्दै आपत्ति जनाइन्।

उनले राष्ट्रियसभाले स्थानिय तहदेखि सिङ्गो प्रदेशको प्रतिनिधित्व गरेको भन्दै एउटा क्षेत्रको प्रतिनिधित्व गरेकोलाई ठूलो र सिङ्गो प्रदेशलाई प्रतिनिधित्व गरेको चाहिँ सानो कसरी भनेर प्रश्नसमेत गरिन्।

उनले भनिन्, ‘समस्या त जहाँ पनि हुन्छन्, तर समस्या मात्र देखाएर हुँदैन। भएका उपलब्धिहरुलाई हामीले उजागर, त्यसको प्रचार गर्न र त्यो आम जनतामा पुर्याउन जरुरी छ। राष्ट्रियसभा कमजोर सभा हो। हामी कमजोर सभाको सदस्य हौँ भन्ने कुरा हामी आफूले आफैलाई भन्न आवश्यक छैन। त्यो सत्य पनि होइन्। राष्ट्रियसभाले स्थानिय तहदेखि सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेको छ। अनि एउटा क्षेत्रको प्रतिनिधित्व गरेकोलाई ठूलो र सिङ्गो प्रदेशलाई प्रतिनिधित्व गरेको चाहिँ सानो कसरी? यो कुरा नै सुधार्न जरुरी छ।’

प्रकाशित मिति: : 2024-12-24 15:13:00

प्रतिकृया दिनुहोस्