सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

Break n Links
Break n Links

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो।

खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे। उनीहरुले ११७ रन जोडे। टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो।

भण्डारीले ४१ रनको योगदान दिए। उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए। जेबले ४१ बलमा ६९ रन जोडे। उनले ८ चौका र २ छक्का हिर्काए। उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए। 

तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो। उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए। उनले ८ बलमा १ छक्का प्रहार गरे।

लगत्तै, ब्रान्डन म्यामुलन पनि आउट भए। उनले १२ बलमा १४ रन बनाए। यस क्रममा उनले १ छक्का हिर्काएका थिए। कप्तान दीपेन्द्र सिंह ऐरीले ठुलो योगदान दिन सकेनन्। उनी ९ रन बनाएर आउट भए।। सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए।

जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए। उनले यस क्रममा ४० रन खर्चिए। त्यस्तै, किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए।

जनकपुरका लागि फेरि एकपटक ललित राजवंशीले किफायती बलिङ गरे। उनले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए। 

उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले १० खेलमा १७ विकेट लिएका छन्। जेम्स निसमले पनि एक विकेट लिए।

प्रकाशित मिति: : 2024-12-21 14:18:00

प्रतिकृया दिनुहोस्