नेपाल प्रिमियर लिग (एनपिएल)को क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे।
शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए। शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए। तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए।
नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए। कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए। अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए।
मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए।