ओलीलाई वर्षमानको चेतावनी: सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नुस्

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन्।

ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे।

ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ छ।

‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिंड्नुभएको छ’, पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ’, पुनले भने, ‘हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं।’

ओली गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुनुपर्ने उनको भनाइ छ।

प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै पुनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए।

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरू राखेर ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए।

‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौँ। राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ। हामी कुनै दिन फेरि पनि चलाउँछौँ’, पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठीक लगाउन सक्छु भन्ने नठाने हुन्छ। किनकि जनताले बुझेका छन्। सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम नगर्नुस्।’

उनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ कांग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए।

प्रकाशित मिति: : 2024-12-14 19:34:00

प्रतिकृया दिनुहोस्