जाऔँ है ‘च्योर्दोङ’

Break n Links
Break n Links

तपाईंलाई घुम्न मनपर्छ?
नयाँ दृष्यमा रम्न मनपर्छ?

त्यसो हो भने जाऔँ है- ‘च्योर्दोङ’

च्याेर्दाेङ दोलखा जिल्लामा अवस्थित छ। समुद्री सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्याेर्दाेङ एक रमणीय हिलस्टेसन त हाे नै धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा पनि याे धनी छ। 

त्यसैले त सुरु भएकाे हाे ‘जाऔँ है च्योर्दोङ’ अभियान। दाेलखाकाे जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काकाे नेतृत्वमा अभियान शुभारम्भ भएकाे हाे।

अभियान अन्तर्गत यही मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा भयाे। अभियानमा पर्यटन व्यवसायी, समाजसेवी, साहसिक खेलका प्रतिनिधिहरू, स्थानीय युवाहरूको सहभागिता थियाे। 

अभियानमा ३६ जनाको टाेलीले च्याेर्दाेङकाे अवलाेकन गरेकाे छ। नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन पनि भएकाे छ। 

के छ च्याेर्दाेङमा?

च्योर्दोङ डाँडामा च्योर्दोङेश्वर महादेवको बास छ। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले यहाँ पुग्ने जो कहिलाई मन्त्र मुग्ध बनाउछ, मन आन्दित बनाउछ, यात्राका थकान मेटाउँछ।

च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ।

हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ।

च्योर्दुङ हिन्दू र बौद्ध संस्कृतिहरूको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म र परम्परा एकअर्कासँग जोडिएका छन्।

च्योर्दोङको पर्यटन सम्भावना र प्रचार अभियान

च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियानका संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔँ है च्योर्दोङ’ अभियान सुरु गरेका हौँ। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौँ।”

नेपाल साइकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए। “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने।

डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो। अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो। काठमाडौँ नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ।”

लेखक लोकराज भट्टले भने, “च्योर्दोङ एक यस्तो स्थान हो जहाँ एकै ठाउँबाट लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ। र पहाडी र हिमाली भूदृश्यले कथा सिर्जनाका अनेकौं सम्भावना दिन्छन्।”

‘जाऔं है च्योर्दोङ’ अभियान पर्यटन प्रवद्र्धन मञ्च नेपालको ब्यानरमा आयोजना गरिएको हो। डेढ दशकदेखि जिरी र दोलखाको पर्यटन विकासमा सक्रिय लिलाराम खड्काको नेतृत्वमा यो अभियानले उल्लेखनीय गति लिएको छ।

‘जाऔँ है च्योर्दोङ’ अभियानमा काे-काे पुगे?

एक साता भएकाे अभियानमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए।

साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए। साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए।

च्योर्दोङ यात्रामा पत्रकारहरू राजकुमार गजुरेल, सुरेन्द्र राना, लेखक तथा पत्रकार रोहेज खतिवडा, लेखक लोकराज भट्ट, फोटो पत्रकार जीवन लामा, उज्जवल श्रेष्ठ र काजी थापा सहभागी थिए।

साथै पत्रकार तथा शिक्षक केन्द्र ज्योति खड्का, दोलाखाका फोटो पत्रकार जिवन लामा, व्यावसाय केशव कार्की (माडे), युवा होटल व्यवासायी तेजेस्वी वस्नेत र सुमन खड्का र प्रहरी निरिक्षक गनेन्द्र हाङ्ग गजुमको पनि सहभागिता थियो।

अभियानमा क्याम्पिङको व्यवस्थापन सगरमाथा आरोही लालबहादुर जिरेलको नेतृत्वमा १५ जना स्थानीय युवाहरुले गरेका थिए । 

च्योर्दोङ, जिरी नगरपालिकाको र गौरीशंकर गाउँपालिकाको शीरमा अवस्थित छ। हाल पर्यटकको लागि बासस्थानको (पाटी वा धर्मशाला) सुविधा छैन। हाल यहाँ केवल क्याम्पिङ गर्न सकिन्छ।

अभियान टोलीले जिरीबाट डेढ घण्टाको जिप यात्रा गर्दै क्याङसी पोखरी पुगेका थिए। त्यसपछि तीन घण्टा पैदल यात्रा गर्दै च्योर्दोङ डाँडामा पुगे। यस यात्रा अनुभवले च्योर्दोङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना झल्काएको छ।

यो अभियानले दोलखाको पर्यटनलाई प्रवर्द्धन गर्दै च्योर्दोङलाई देशकै महत्त्वपूर्ण गन्तव्यको रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

कसरी पुग्ने च्याेर्दाेङ?

काठमाडौं–जिरी १८८ किमि। काठमाडौंबाट जिरीसम्म गाडीमा ६ घण्टा लाग्छ। जिरीबाट जिपमा देढ घण्टा जिप यात्रामा क्याङ्सी। क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ। साथै जिरी बजारबाट हिँडेर ५ घण्टा लाग्छ।

प्रकाशित मिति: : 2024-12-14 19:44:00

प्रतिकृया दिनुहोस्