नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम राेयल्सकाे घातक बलिङकासामु जनपुर बाेल्ड्सले पहिलाे लजास्पद हार बेहाेरेकाे छ। यससँगै लगातार चार खेल जितेकाे जनकपुरकाे अपराजित यात्रा राेकिएकाे छ।
त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले १२३ रन बनाएर जनकपुरलाई सामान्य लक्ष्य दिएकाे थियाे। जवाफी ब्याटिङमा जनकपुर सबै विकेट गुमाउँदै ५१ रनमा सीमित रहन पुग्याे।
यसअघि चार खेलमा एक खेल हारेकाे सुदूरपश्चिम आज जनकपुरलाई ७२ रनले हरायाे। याे रन एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो। यसअघि पोखरा एभेन्जर्स चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो।
आज जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए।
ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह सून्य र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए।
तस्बिर: विकेट झारेपछि मैदानमा उफ्रिँदै सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी
यसअघि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रनको सामान्य लक्ष्य जनपुरलाई दिएकाे थियाे।
सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए। तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए।
सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए। पहिलो विकेटका रुपमा सेफ आठौं ओभरको चौथो बलमा आउट भए।
सेफ हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच भए। इशान पान्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे। इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए।
१८औं ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो। पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो। पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो।
दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मीत सिंह आउट भएका थिए। सिंहले ३ बलमा १ रन मात्र जोड्न सके। सिंहलाई शेर मल्लले बोल्ड आउट गरे।
चौथो विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए। सुदूरपश्चिमको पाँचौ खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन्।
पाँचौ विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए। १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए।
आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए। अभिनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे। जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए।
पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ। जनकपुर हारका साथ २ खेल अगाबै प्लेअफ पुग्न चुकेको छ।