दसैंमा पानी पर्छ कि पर्दैन? यस्तो छ पूर्वानूमान

गत असोज ११ र १२ गते भएको अविरल वर्षा र बाढी पहिराले देश नै अस्तव्यस्त भइरहेका बेला यसपालि दसैंको मौसम कस्तो होला भन्ने आम चासोका बीच मौसम पूर्वानुमान महाशाखाले दसैं विशेष मौसमको प्रक्षेपण गरेको छ। 

महाशाखाका अनुसार  दसैंभरि कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। 

फूलपातीदेखि अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ। 

त्यस्तै कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। उक्त दिनहरुमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ। यसबीचमा ठूलो वर्षा भने हुनेछैन। 
यस वर्षको मनसुन मंगलबारदेखि नै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट बाहिरिसकेको छ। 

पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ। हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव बाँकी छ। 
 

प्रकाशित मिति: : 2024-10-09 18:26:00

प्रतिकृया दिनुहोस्