दशैंले सुधार्छ चिसिएकाे सम्बन्ध...

Break n Links
Break n Links

हिन्दुहरूको महान चाड दशैं मनाउने आ–आफ्नै तौरतरिकाहरु छन्। हिन्दुभित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन्।

भारतीय हिन्दु र नेपाली हिन्दुहरूको दशैं मनाउने शैली भिन्न छन्। दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरु नै हुन्।

तर पनि जात–जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन्। यद्यपी दशैंका विशेषता र आकर्षणहरु भने एउटै र उस्तै छन्।

वास्तवमा दशैं पर्व मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ। शरद ऋतु भएकाले यतिबेलाको समय घमाइलो मानिन्छ।

वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दशैंलाई उल्लासका साथ मनाउने प्रचलन छ। मीठो खाने, राम्रो लगाउने र मनोरंजन गर्ने फुर्सदिलो क्षण दशैंलाई मानिन्छ।

नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दशैंले नै प्रदान गर्दछ।

तर दशैंको विशेषता र आकर्षणले भने सबै हिन्दुहरुलाई प्रफुल्लित बनाउने गर्छ। त्यस्ता केही विशेषताहरुको यहाँ चर्चा गरिएको छ।

मालाश्री धुन

गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दशैं आएको छनक पाइन्छ। घटस्थापनका दिनदेखि रेडियो, टिभीमा यो धुन बज्ने भएकाले वातावरण मनमोहक बनाउँछ।

सितार, तानपुरा र तबलालगायतका बाजाहरूको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ। त्यसबाहेक पञ्चेबाजा, मादल, सारंगी, मुरली लगायतका बाजाहरुबाट पनि मालाश्री धुन निकाल्ने प्रचनल छ।

वास्तवमा मालाश्री धुनलाई दशैं धुन पनि भनिन्छ। दशैंमा देवीको पुजा गरिने भएकाले देवीको गुनगानका लागि यो धुन बजाउने गरिएको ऐतिहासिक मान्यता रहेको छ।

लिङ्गे र रोटे पिङ्ग

गाउँघरतिर मात्र होइन शहरबजार तिर पनि दशैं आउनुपूर्व नै पिङ्ग लगाउने चलन बढ्न थालेको छ।

गाउँघरतिर पाखाबारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पाएक पर्ने स्थानमा लिङ्गे पिङ लगाउने चलन छ।

हिजोआज शहरतिर पनि पैसा उठाएर पिङ लगाउने चलन बढेको छ। विजयादशमीको दिन मान्यजनको हातको टिका लगाएर केहीक्षण भएपनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ। 

पहिले पहिले काठको रोटेपिङ हाल्ने चलन रहेपनि हाल भने यो विस्तारै लोप हुन थालेको छ।

चंगा चेट

दशैंमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो। विशेष गरेर शहर बजारमा चङ्गा उडाएर दशैंको धुमधाम स्वागत गरिन्छ।

पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चङ्गा उडाइथ्यो। खुल्ला चौर, कौशी तथा घरको छतमा उभिएर चङ्गा चेटको मज्जा लिने चलन छ। उहिले भन्दा अहिले चङ्गा उढाउने प्रचलन बढ्दै गएको छ।

शरद ऋतुको सुरुवातीमा पश्चिबाट सरर हावा चल्ने भएको हुँदा चाडबाडको मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ। दशैंका बेला चंगा उढाउने प्रतियोगिता नै हुन्छ। 

उहिले आकाशमा चंगा उडायो भने वरुण देवताले पानी पार्छन र धान विग्रन्छ भनेर बुढापाकाले उढाउन दिदैन थिए। यद्यपी, दशैंको मौसम उपयुक्त हुने भएकाले रमाइलोका लागि चंगा उढाउने चलन चलेको मानिन्छ।

किम्वदन्ती अनुसार उसबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङ्गसम्म पुग्दथ्यो। 

केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सुचना प्रवाह गर्न चङ्गामा लेखेर पठाइथ्यो। नेपालबाट उढाएको चङ्गा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो।

संचारको विकास नभएका कारण चङ्गाको माध्यमले सुचना आदनप्रदान गरिन्थ्यो। 

उसबेला हस्तकलामा निपूर्ण व्यक्तिहरुले बाँसका पातलो सुइराहरुमा नेपाली कागजमा टाँसेर चङ्गा बनाउँथे। नेपाली कागजमा सुचना लेख्न पनि सजिलो हुन्थ्यो।

नयाँ लुगा

दशैंमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो। गाउँघरतिर नयाँ कपडा किनेर टेलर्सका सिलाउन दिने होडबाजी नै चल्छ।

वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दशैंमा नै नयाँ लुगा किन्ने प्रचलन रहीआएको बताइन्छ। 

बालबालिकाहरुलाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ। त्यसैले दशैंको समयमा नयाँ कपडाहरुको बजार चम्किन्छ।

मार हान्ने र बलि चढाउने

दशैंमा खसीबोका, भेडा च्याङग्राको बजार खुबै चम्किन्छ। किनकी बडौं दशैंको नवौं दिन आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने चलन छ। कतिपयले यसैदिनलाई मार हान्ने दिनका रुपमा पनि स्वीकारिन्छ।

दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एव देवीस्तोत्र पाठ गरिन्छ।

पशुबली नदिनेहरूले कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई चढाउँछन्। तर प्रायजसो महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। 

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ। 

घरमा मार हानेपछि मासुको परिकार बनाएर परिवारमा रमाइलो गर्दै खाने गरिन्छ। किनकी मांशाहारीहरुले दशैंमा मासु अनिबार्य मान्ने गर्छन्।

दक्षिणा र आशीर्वाद

दशैंमा मान्यजन र आफन्तहरुकामा पुगेर टीका लगाउने चलन छ। टीका लगाउँदा आर्शिवाद दिने गरिन्छ। टीका लगाउँदा दिने आर्शिवाद दशैंको भिन्नै हुन्छ। 

मान्यजनहरूले संस्कृत भाषामा भएको ‘आयुद्रोणसुते..’ भट्याएर उमेर र पेशाअनुसारको आशीर्वाद दिने गरिन्छ।

टीका जमरा र आशीर्वादसँगै मावली, बुढो मावली, ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महत्व पनि ठूलै हुन्छ। 

टीका ग्रहण गर्न जानेहरुले साथमा फलफुल, मिठाइ, कपडालगायतको कोशेली लाने चलन छ। त्यसैले दशैंमा नयाँ नोट सटहीका लागि बैंकहरुले समय र सिमा नै निर्धारण गर्ने गर्छन्।

टीका र जमरा

दशैंमा रातो वा सेतो टीका लगाउने र जमरा सिउरिने चलन छ। टीका र जमरा दशैंको मुख्य पहिचान पनि हो। 

मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपुर्वक राखिएको जमरा टिपेर टीकाका साथ लगाउने गरिन्छ। 

टीका र जमरा अन्नवाट बनिने र दही पशुपालनको प्रतिक भएकोले यसलाई अहिले बैज्ञानिक ढंगवाट कृषि उपजको परिचय गराउने पर्वको रुपमा लिइने गरेको छ। 

मान्यजनले टीका लगाइदिदा सुख, शान्ति, समद्धि र वैभव प्राप्त हुने जनविश्वास छ। परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्ब र आफन्तजनसग समेत टीका लगाउन जाने परम्परा छ। 

यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिशासुरहरुको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रुप धारण गरेर उनिहरुलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजय दशमीमा रातो टिका र जमरा लगाएको पौराणीक मान्यता छ।

सेतो टीका

दशैंमा कतिपय आदिवासी जनजाति समुदायभित्र सेतो टीका र जमरा लगाउने प्रचलन छ।

आदिवासी जनजातिहरुको हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टिका लगाउने चलन भएकाले दशैंमा सेतै टीका लगाउने परम्परा छ। 

कतिपय आदिबासीहरुले दशैंका दिन नै आफ्नो अधिकार खोसिएकाले रातो टीका बहिस्कार गरेर सेतो लगाउन थालिएको बताएका छन्। 

यद्यपी, पशुपालन र कृषी पेशा गरेर बस्ने पहाडी मुलका आदिवासी जनजातिहरुले परापूर्व कालदेखि नै दहीमा चामल मुछेर सेतो टीका लगाउने चलन चलाएको भनाइ पनि छ। 

सेतो टीकासँग पहँलो जमरा लगाउने चलन छ। यसको बैज्ञानिक र प्राकृतिक कारण पनि रहेको बताइन्छ। 

भेटघाट र रमाइलो खेल

चाडपर्व भेटघाट गर्ने सुनौलो अवसर हो। दशैं भेटघाट जुराउने उपयुक्त अवसर हो।

 विभिन्न देश तथा टाढा टाढा रहेका मानिसहरु दशैंमा फर्किने चलन छ। आफ्ना विभिन्न ब्यतताहरुलाई मिलाएर दशैंको छेकोमा हिन्दुहरु गाउँघर फर्कने गर्छन। 

त्यसैले दशैं भेटघाटको रमाइलो अवसर पनि हो। दशैंमा तास तथा लंगुरपुर्जा खेलेर रमाइलो गर्ने चलन छ। 

संगठित रुपमा जुवा तास खेल्न प्रतिबन्ध रहे पनि आफन्त र साथीहरु मिलेर रमाइलोका लागि दशैंमा तास अनिवार्य जस्तै भएको छ। अन्य रमाइला खेलहरु पनि दशैमा विशेष आयोजना गर्ने गरिन्छ। 

प्रकाशित मिति: : 2024-10-09 15:30:00

प्रतिकृया दिनुहोस्