चार प्रदेशबाट बाहिरियो मनसुन, बाँकी प्रदेशबाट कहिले?

Break n Links
Break n Links

नेपालका चार प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट मनसुन पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै बागमती र मधेश प्रदेशबाट पनि मनसुन बाहिरिनेक्रममा रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको छ। अहिले बागमती प्रदेशको उपत्यकासहित पश्चिमी भू–भाग र मधेश प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ। 

अब बागमती र मधेश प्रदेशको पूर्वी भू–भागसहित कोशी प्रदेशबाट भने मनसुनी प्रणाली बाहिरिन बाँकी रहेको छ। सुदूरपश्चिमलगायत कर्णाली प्रदेशबाट असोज २० गतेदेखि मनसुन बाहिरिन सुरु गरेकोमा केही दिनमा नेपालबाट मनसुन बाहिरिसक्ने महाशाखाले जनाएको छ। 

‘मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ।’ महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ।

नेपालमा मनसुनी प्रणाली सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्म करिब ३ महिना रहने गर्दछ। यस वर्ष नेपालमा जुन १३ भन्दा तीन दिनअघि जुन १० (जेठ २८ गते)मा भित्रिएको थियो। 

अक्टोबर २ मा बाहिरिने सरदर समय भए पनि यस वर्ष हप्ता दिन भन्दा ढिलासम्म मनसुन रहेको छ। नेपाली मनसुनी प्रणालीमा सरदर मितिभन्दा हप्ता दिनभन्दा छिटो–ढिलोलाई सामान्यरुपमा लिने गरिन्छ। 

यो पनि– ‘नेपालमा अझै धेरै संरचनाहरू भत्किने जोखिममा छन्’ (अन्तर्वार्ता)

प्रकाशित मिति: : 2024-10-08 18:48:00

प्रतिकृया दिनुहोस्