विपत्तिमा राजनीति हुँदैन, सबैले मिलेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले बाढीपहिराेबाट प्रभावित काभ्रेकाे निरीक्षण गरेका छन्। 

उनले साेमबार बिहान बाढीपहिराेबाट क्षतिग्रस्त पनाैती नगरपालिका-१२ भूमेडाँडा र बेथानचाेश गाउँपालिका-४ चलालकाे निरीक्षण गरेका हुन्।

प्रभावित क्षेत्रकाे निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय काभ्रेकाे बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरोबाट जनधनकाे ठूलाे क्षति भएकाेले तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए।

‘भारी वर्षाबाट सिर्जित बाढीपहिरोबाट जनधनकाे ठूलाे क्षति भएकाे छ। संघीयता र स्थानीय तहकाे आवश्यकता विपत्तका बेला महसुस भएकाे छ’, उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहकाे सरकार मिलेर काम गर्दा विपत्तिकाे सामना गर्न सजिलो हुन्छ। तीन वटै सरकारकाे विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ। तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ।’ 

गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति नहुने भन्दै सबैले मिलेर काम गर्नुपर्ने बताए।

‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खाेजी र उद्धारकाे काम जारी रहेकाे भन्दै अब राहतकाे व्यवस्था गराउने अवस्थामा छाैँ’, उनले भने।

बाढी पहिराेबाट काभ्रेमा ७८ जनाकाे मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता, घाइतेमध्ये १८ जनाकाे उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेकाे उनले बताए। 

मृत्युका परिवारलाई दुई लाख क्षतिपूर्ति र घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताकाे २५ हजार दिने काम भएकाे उनले बताए।

गृहमन्त्री लेखकले भने, ‘स्थानीय तहले लाभग्राही पहिचान गरेकाे तीन दिनमा पहिलाे किस्ता उपलब्ध गराइन्छ। घाइतेकाे निशुल्क उपचार हुन्छ। काभ्रेका बाढी-पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घाेषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ। सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ।’

बाढीपहिराे प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेकाे उनकाे भनाइ छ।

‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेकाे छ तर सरकारले काम नगरेकाे भन्ने हुँदैन। सरकार भनेकै यही हाे’, उनले भने। 

प्रकाशित मिति: : 2024-10-07 14:44:00

प्रतिकृया दिनुहोस्