ब्रह्मचारिणी देवीकाे पूजा, प्रचण्डसँग गुनासाे (भिडियाे)

Break n Links
Break n Links

आज नवरात्रकाे दाेस्राे दिन देशभरिका दसैँघर वा पूजा काेठामा ब्रह्मचारिणी देवीका विधिपूर्वक पूजा गरियाे। त्यसका साथै आज यात्रुहरुकाे गुनासाे सुन्न नेपाल प्रहरीले देशका विभिन्न स्थानमा हेल्प डेक्सकाे स्थापना गरेकाे छ।

त्यस्तै आज बसेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिकाे बैठकले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गर्‍याे।

विदेश भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) आज स्वदेश फिर्ता भइन्, धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता आज पनि हुन सकेन, यातायात व्यवसायीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर गुनासाे गरे। यीसँगै आज दिनभरिका प्रमुख ९ समाचार यहाँ प्रस्तुत छ:


नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा गरियाे

नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिएकाे छ।

नवरात्रको पहिलोदिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो।

त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएकाे हाे।

विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो।

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु

 यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो। अझै १९ जना बेपत्ता छन्। घाइतेहरुको संख्या १६५ छ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ।

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरी यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

नेपाल घितपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ।

उपाध्यक्ष अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको थियाे।

प्रचण्डसँगकाे भेटेमा यातायातका प्रतिनिधिकाे गुनासो- प्रधानमन्त्रीले चासो देखाउनुभएन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। 

शुक्रबार उनीहरूलाई आफ्नै निवास खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका हुन्।

बाढीपहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गरेका अध्यक्ष प्रचण्डले दसैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका छन्।

ज्ञानेन्द्र शाहले दसैंमा टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ।

पूर्वराजा शाह हाल भुटान भ्रमणमा छन्। उनी आइतबार स्वदेश फर्किने छन्।

अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु

अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ। यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको तीव्र खोजी गरिरहेका छन्।

हेलेनको कारण भएको कूल मध्ये आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ। सन् २००५ मा क्याट्रिना आँधीपछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ। सन् २००५ मा सो आँधीका कारण यहाँ १८ सयभन्दा बढीको मृत्यु भएको थियो।

महिला टि– २० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी

युएईमा जारी महिला टी– २० विश्वकप २०२४को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।

पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो।

यसअघि, महिला टी– २० विश्वकप २०२४को पहिलाे खेलमा बंगलादेशले स्कटल्याण्डलाई पराजित गरेकाे थियाे।

भिडियाे:

प्रकाशित मिति: : 2024-10-04 21:05:00

प्रतिकृया दिनुहोस्