बार-बेन्च लफडा- बारका अध्यक्षविरुद्ध ‘अपहेलना’ मुद्दा फिर्ता हुने

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतबीच तनाव बढिरहेको छ। न्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर आन्दोलनमा उत्रिएका नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्चबीच आरोपप्रत्यारोपपछि उनीमाथि ‘अहपेलना मुद्दा’समेत दायर भएको थियो। 

तर उनिमाथि अपहेलना मुद्दाको प्रतिवेदन तयार गरेर रिट दर्ता गरेका सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले भने मुद्दा फिर्ता गर्ने बताएका छन्। 

सामाजिक सञ्जालमा उनले यसबारे जानकारी दिँदै भनेका छन् ‘अब कसैको प्यादा बन्न चाहिनँ…’

उनले तयार गरेको प्रतिवेदनकै आधारमा सर्वोच्चमा बारका अध्यक्ष घिमिरेविद्ध अपहेलना मुद्दा अघि बढेको थियो। मुद्दाको पेशी कात्तिक १ गतेका लागि तोकिएको थियो। तर रजिष्ट्रार घिमिरेले भने अदालत खुलेलगत्तै आफ्ना सबै भनाइहरूसहित मुद्दा फिर्ता गर्ने जनाएका छन्। 

‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु’ उनले लेखेका छन् ‘अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु। म कसैको प्यादा बन्न चाहिनँ।’

अघिल्लो साता काठमाडौं जिल्ला बारको एउटा कार्यक्रममा नेपालका बारका अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा न्यायाधीशहरू नियुक्ति गरेको आरोप लगाएका थिए। 

त्यसपछि सर्वोच्चमा उनीविरुद्ध असोज १४ गते मुद्दा दर्ता भएको थियो। 
 

प्रकाशित मिति: : 2024-10-03 10:27:00

प्रतिकृया दिनुहोस्