अमेरिका उडे ओली, निराश नहुन कार्यकर्तालाई माधव नेपालकाे आग्रह (भिडियाे)

संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका उडे। अमेरिकाकाे चर्काे विराेध गर्ने ओली अमेरिका जाँदै गर्दा दिनभरि उनकाे यात्राबारे चर्चा भयाे।

त्यस्तै आजै संसद सचिवालयले सहकारी संस्था बचत रकम दुरुपयाेगसम्बन्धी विशेष छानबिन प्रतिवेदन सार्वजनिक गर्‍याे। प्रतिवेदन सार्वजनिक भएपछि करिब साढे तीन महिनादेखि पूर्वगृहमन्त्री रवि लामिछानेलगायत व्यक्तिहरु र सहकारीबारे उठेका प्रश्न, जिज्ञास र भ्रम चिरियाे।

त्यस्तै डेढ महिनादेखि तीन केजीकाे नेल भिरेर माइतीघर मण्डलामा उभिएका दलित अधिकारकर्मी खगेन्द्र सुनारले पनि आजै आन्दाेलन स्थगित गरे।

त्यसका साथै आज एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कार्यकार्तालाई निराश नहुन भनेकाेदेखि इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त पारेकाे समाचारसम्म दिनभरि चर्चामा रहे।

यीसँगै आज दिनभरिका मुख्य-मुख्य समाचारहरु यहाँ प्रस्तुत छ:


सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

सहकारी संस्था बचत रकम दूरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयले शुक्रबार सूर्य थापा नेतृत्वको समितिले तयार पारेको १ हजार १ सय २४ पेज लामो पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कार्बाही गर्न सिफारिस गरेको छ।

यसैगरी प्रतिवेदनमा सहकारी रकम अपचलन गर्ने जीबी राईसहित २९ जना व्यक्ति फरारको सूचीमा रहेको र जसमध्ये केही विदेशमा रहेको पनि उल्लेख गरिएको छ।

सञ्चालक थुनेर सहकारी समस्या समाधान हुँदैन

सहकारी समस्या समाधान बचत रकम हिनामिना गर्ने सञ्चालकलाई थुनेर नहुने संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेको छ। 

शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनमा सञ्चालकलाई थुन्ने भन्दा पनि कसरी हुन्छ छिटो बचतकर्ताको रकम फिर्ता गराउनतर्फ सरकार अग्रसर हुनुपर्ने भनिएको छ। 

सहकारीको रकम अपचलन गर्नेलाई थुन्नेभन्दा उनीहरूको पासपोर्ट र यात्रा अनुमति, चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्नुपर्ने, सहरकारीको मुख्य कार्यालय भन्दा बाहिर जानु परेमा सरकारको अनुमति लिनुपर्ने, सहकारी संस्था खोल्नुपर्ने र निश्चित अवधिभित्र सबै समस्या समाधान गर्ने सर्तहरू राख्नका लागि सरकारलाई सुझाब दिइएको छ।

यदि यति गर्दा पनि समस्या समाधान हुन नसकेमा पुन: कानुनी कार्वाहीमा जानुपर्ने समितिले भनेको छ। 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार दिउँसो उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्तान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन्।

 जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए।

पार्टीमा निराशा पैदा गर्ने होइन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कतिपय नेता–कार्यकर्ताले पार्टीप्रति विश्वास नगर्ने र जनतामा निराशा पैदा गर्ने काम गरिरहेको बताएका छन्।

शुक्रबार नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै उनले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताए।

साथै उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँडेको भन्दै निराशा पैदा गर्ने सबैलाई कारवाही हुने बताए।

नेल प्रदर्शन स्थगन

विभेदविरुद्ध दलितका लागि दलित अभियानको ‘नेल लगाएर गरिएको प्रदर्शन ४५औँ दिनमा स्थगन भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै?’ भन्ने प्रश्नसहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी दिए।

संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन्। उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने पनि बताए।

पछिल्लोपटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव गरिएको भनेर सुनार प्रदर्शनमा उत्रिएका थिए।

सरकारले बेरुजु फछ्र्यौट समिति गठन गर्ने

सरकारले बेरुजु फछ्र्यौट गर्न ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ।

बेरुजु फछ्र्यौट गर्न प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा समिति गठन गरिएको शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसैगरी सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

एक लाख बढी लागूऔषध ट्याबलेटसहित ६ जनासहित पक्राउ

काठमाडौँको विभिन्न ठाउँबाट एक लाख बढी लागूऔषध ट्याबलेटसहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ। 

लागूऔषध नियन्त्र ब्यूरो काठमाडौँले ‘अपरेशन अलट्राज’ अन्तर्गत ६ जनालाई १ लाख ८० हजार ४ सय ३० वटा लागूऔषध ट्याबलेटसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका ७ माकलबारीका ३० वर्षीय बहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका १का २२ वर्षीय विपीन कुमार महतो रहेका छन्। 

यसैगरी पर्वतको महाशीला गाउँपालिका ५ का २७ वर्षीय बालकृष्ण अधिकारी, झापा अर्जुनधारा नगरपालिका नगरपालिका १ की ३२ वर्षीया सम्झना रोक्का र बाराको परवानीपुर गाउँपालिका ३ का ३४ वर्षीय प्रदीप सर्राफ रहेका छन्।

उनीहरू यही भदौ १८ गतेदेखि असोज २ गतेसम्म काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ परेका हुन्। उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ।

इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए।

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ।

इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको थियाे भने लेबनानले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको थियो।

यसअघि लेबनानभरि पेजर र वाकीटकीमा भएको विस्फोटमा कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए।

प्रकाशित मिति: : 2024-09-20 19:56:00

प्रतिकृया दिनुहोस्