ओलीलाई प्रभु साहकाे प्रश्न–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो?

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन्।

बिहीबार आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वमन्त्रसमेत रहेका साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन। यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन। यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घटनाक्रमले पुष्टि गरिसकेको छ। हामीले पनि हेरिसकेका छौं। कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु। कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो? नेपाली जनताकै प्रधानमन्त्री हो? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ? त्यो सोध्न चाहन्छु। हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ?

देशमा ७६१ वटा सरकार बनाइएको भन्दै आक्रोश पोखे। उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्यांक पेश गरे। उनले नेपालमा भने तीन टायरको सरकार बनाईएको भन्दै आलोचना गरे।

उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे। उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए।

उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले पूरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निष्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए।

जनयुद्ध र जनआन्दोलनमा आफूहरुले ठूलो त्याग गरेको भएपनि त्यसमा ठूलो व्यापार र गद्दारी भएको उनको आरोप छ।

प्रकाशित मिति: : 2024-09-19 15:07:00

प्रतिकृया दिनुहोस्