उमेर हदविरुद्ध एआईजी ज्ञवालीसहित पाँच प्रहरीले दिए सर्वोच्चमा रिट

File Photo
File Photo

उमेर हदविरुद्ध नेपाल प्रहरीका पाँच अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

एआईजी श्यामलाल ज्ञवाली तथा डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दिएका हुन्।

एआईजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जाँदैछन्। अन्य अधिकारीहरू पनि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको छ।

‘उमेर हदका कारण हुने अवकाशको विषयसमेत सम्बोधन हुनुपर्‍यो भन्ने माग दाबी गरी हामीले सामूहिक रुपमा निवेदन दिएका हौँ,’ ज्ञवालीले भने, ‘यसबारे अदालतले बिहीबार पेशी तोकेको छ।’

प्रहरी नियमावलीअनुसार अहिले एआइजीको उमेर ५६ र पदावधि पाँच वर्षको हुन्छ। तर, अधिकांश एआइजीहरू पदावधि नसकिँदै अवकाशमा जाने गरेका छन्।

डिआइजीहरूको समेत पदावधि पाँच वर्ष र ५६ वर्ष उमेर हद कायम गरिएको छ। तर, प्रहरी ऐन संशोधन प्रस्तावमा उमेर हद ५७ र सेवा अवधि चार वर्षमा झार्नुपर्ने उल्लेख छ।

यसअघि सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा हुने अवकाश कार्यान्वयन नगर्न निर्देशनात्मक आदेश दिएको थियो। सो आदेशविरूद्ध सरकारले भने सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको छ।

२१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगराउन अदालत गुहारेका थिए।

प्रकाशित मिति: : 2024-08-28 17:21:00

प्रतिकृया दिनुहोस्